एकता र सहिष्णुताका पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । विभिन्न धर्म र संस्कृतिमा आधारित चाडपर्वहरुले हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

मुस्लिम समुदायको महान चाड इदुल फितरको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक विशेषतायुक्त देश भएकोले यस्ता विशेषताहरु यहाँका मौलिक पूँजीको रुपमा रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने पनि बताएका छन् । ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा सरकार रहेको प्रष्ट पारेका छन् ।

साथै प्रधानमन्त्रीले विश्वब्यापी संकटका रुपमा कोभिड-१९ भाइरसको महामारी सामना गरिरहेको बताउँदै विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन पनि आह्वान गरेका छन् ।

अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ ।

अरवी भाषामा ईदको अर्थ खुशी र फित्रको अर्थ दान हुनजान्छ । ईद पर्वमा ईदगाह (खाली मैदान) वा ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी (नमाज) पढ्ने चलन छ । यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र (दान) दिने चलन पनि इस्लाम समुदायमा छ । मुस्लिम समुदायमा वार्षिक कमाइको साढे दुई प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भन्ने गरिएको छ ।

एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *