धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कार गरिँदै

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कार गर्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था अनुसार मृतक महिलाको दाहसंस्कार सुरक्षा निकायले गर्ने तयारी गरिएको हो । ।

मृतक महिलाको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनको पुनः परीक्षणका लागि स्वाब टेकू पठाइएको छ । तर, सरकारले भने आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको खुलाएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझ महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका छन् ।

प्रहरी स्रोतले भने महिलाको दाहसंस्कार गर्ने तयारी भइरहेको बताएको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार दाहसंस्कार गरिने छ ।
कार्यविधिअनुसार शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने छ । मृतकको जथाभावी सदगतलाई पनि निषेध गरिएको छ । शवलाई अस्पताल घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

यस्तै कार्यविधि अनुसार शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एक एक जनालाई पालैपालो गरी हेर्न दिन सकिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिमा कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि भनिएको छ तर गर्नै परे मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *