लकडाउनले रोकेन पुतलीसडकको ढल निकासको काम गर्न (फोटो फिचर)

काठमाडौं । यो तलकाे तस्विर गएको वर्षायाममा राजधानीको ब्यस्त पुतलीसडकमा लिइएको हो । साँझको समय थियो, कार्यालय समय अति ब्यस्त यो सडकमा अकस्मात भारी वर्षा भयो । क्षणभरमै पुतलीसडक जलमग्न हुन बेर लागेन । पैदलयात्रुमात्र हैन दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी समेत पुतलीसडकमा जमेको ढल र वर्षाको पानीको शिकार भए ।


राम्रो निकास नरहेको पुतलीसडकमा हरेक वर्ष सर्वसाधारणले यस्तै सास्ती खेप्दा सम्बन्धित निकाय भने नदेखेझैं थियो ।
अत्ति भएपछि स्थानीय ब्यापारी, ब्यवसायी र घरवालाले गएको चैत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पुतलीसडकको ढल ब्यवस्थापन गर्न दवाव दिए । ‘महाराजगंज, नक्साल, कमलपोखरी, डिल्लीबजारदेखिको वर्षाको पानी पुतलीसडकमा आएर जम्मा हुँदा हाम्रो ब्यापार ब्यवसाय चौपट भयो, सडकको पानी सटरभित्रै छिर्यो ।’ दर्जनबढि स्थानीयको घेराबन्दीमा परेका मेयर शाक्यले तत्कालै यसपटकको वर्षामा पुतलीसडक डुवानमा नपर्ने प्रतिबद्धता जनाए ।

सोहि अनुरुप अहिले सडक विभाग, खानेपानी र भौतिक पूर्वाधार मन्त्रालय विचको समन्वयमा पटकको वर्षा लाग्नु अगावै ढलको स्तरोन्नती गर्ने काम भइरहेको छ ।

सडक विभागले लकडाउनका कारण सडक खुल्ला रहेको मौका छोपी धमाधम पुतलीसडकको ढल स्तरोन्नती गर्ने काम गरिरहेको छ । दुई साता अघिदेखि जारी ढल निर्माण तथा स्तरोन्नतिमा अपेक्षाकृत काम भइरहेको छ । ‘संभवतः यो वर्षामा पुतलीसडक नडुब्ला हाम्रा सटरमा ढल नछिर्ला ।’ स्थानीय भन्छन् ।


अहिले पुतलीसडकमा ढलको पाइप राख्ने काम सकिएको छ । भने, फुटपाथ मर्मत गर्ने, टायल छोप्ने र सडक कालोपत्रे गर्ने काम बाँकी छ । सडक विभागसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानीको पाइप चुहावट र मर्मतको काम पनि धमाधम गर्दैछ ।

पुतलीसडकमा ढल विछ्याइसकेपछि त्यहाँको वर्षाको पानी र ढल शंकरदेव क्याम्पस छेउबाट टुकुचा खोलामा झारिनेछ ।
गत भदौमा भौतिक पूर्वाधार, यातायात तथा खानेपानी मन्त्रालयविच त्रिपक्षीय सहमती गरेर पुतलीसडकको ढल निकासको काम शुरु भएको हो ।

रु १० करोडको आयोजना निर्माणको ठेक्का पीआर इन्फ्रास्टक्चरले पाएकोमा उसले वर्षा अगाडी नै काम सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पनि लकडाउनका कारण सडकमा सवारी आवतजावत बन्द भएकाले आयोजना वर्षा अगाडी नै सम्पन्न हुने विस्वास ब्यक्त गरे ।

कसरी काम भइरहेको छ पुतली सडकमा ? (फोटो फिचर)
तस्वीर, सागरबाबु भट्ट, मकालु खबर ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *