कोरोना प्रकोपः जेठ ५ गतेपछि पनि लकडाउन थप्ने सरकारको तयारी !

काठमाडौं । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउनको विकल्प नभएपछि सरकारले जेठ ५ गतेपछि पनि लकडाउन थप्ने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको भोली बस्ने बैठकमा लकडाउन थप्ने विषयमा छलफल हुने एक समितिका सदस्यले बताए ।

संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने विषयमा समितिका सदस्यहरुको एकमत रहेको तथा प्रधानमन्त्री केपी शर्मा ओली समेत लकडाउन बढाउने पक्षमा रहेकाले संभवतः जेठ ५ गतेपछि १० दिन लकडाउन थप्न प्रस्ताव गरीनेछ । समितिले लकडाउन थप्ने नथप्ने निर्णय गरेर मन्त्रिपरिषदमा पठाउने छ ।

समितिले आजै कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्ने, लकडाउनलाई कसरी व्यवस्थित गर्ने सन्दर्भमा जनस्वास्थ्यविद्हरुसँग छलफल गरेको थियो ।

उक्त छलफलमा विज्ञहरुले लकडाउनलाई निरन्तरता दिनुपर्ने, कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक, सुरक्षाकर्मी लगायतको सुरक्षामा विशेष ध्यान दिनुपर्ने लगायतको सुझाव दिएको समितिका एक सदस्यले बताए ।

‘जेठ ५ गते पछि लकडाउन थप्ने विषयमा सबैको एकमत रहेको छ, आज विज्ञहरुसँगको छलफलमा पनि त्यहि धारणा आयो ।’ समितिका एक सदस्यले भने ।

आजको जनस्वास्थ्य विज्ञहरुको छलफलमा डाक्टर र नर्सहरुलाई क्वारेन्टाइनमा राख्न तथा एक दुई वटा टोली ब्याकअप राख्न समेत सुझाब आएको छ । भने, कन्ट्रयाक्ट ट्रेसिङ र पिसिआर परीक्षणमा जोड दिइएको छ ।

सरकारले लकडाउन गरेको आज ५३ दिन पुगेको छ । यस अवधिमा मुलुकमा २४ जिल्लामा २५८ कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *