कपिलवस्तुका संक्रमितको ट्राभल हिस्ट्री: दुईदिन घरमा बसेर बल्ल क्वारेन्टाइनमा

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा सीमा क्षेत्र सिल गरिएको भएपनि लुकीछिपी नेपाल आउने क्रम भने रोकिएको छैन । यसै सीमाबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका धेरैमा कोरोना संक्रमण पुष्टि भएको देखिन्छ ।

यसले नेपालमा कोरोना संक्रमण जोखिाम झन् बढाएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुको यशोधराका तीनजना संक्रमित भारतबाट आएर दुई दिन घरमा बसेपछि मात्रै क्वारेन्टाइनमा गएको खुलेको छ । यशोधरा गाउँपालिका-८ का उनीहरु लकडाउनकै बीचमा सुरक्षाकर्मीलाई छलेर नेपाल प्रवेश गरेको थिए ।

भारतको मुम्बईबाट रेल र ट्रकमा यात्रा गर्दै उनीहरु छलेर एकहप्ता अघि घर आएका थिए । घर आइसकेपछि पनि उनीहरु दुई दिन घरमै बसेको र त्यसपछि मात्रै क्वारेन्टाइनमा गएको खुलेको हो । घरमै बसिरहेका उनीहरुलाई छिमेकीले थाहा पाएपछि मात्रै क्वारेन्टाइनमा लगिएको थियो ।

कपिलवस्तु प्रहरी प्रमुख (एसपी) दीप शमशेर जबराका अनुसार दुई दिनसम्म उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजी कार्य शुरु भइसकेको छ । कपिलवस्तुमा यशोधरा गाउँपालिका १२ जना, बुद्धभूमि नगरपालिकाका ४ जना तथा मायादेवी र शुद्धोधन गाउँपालिकाका ५ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *