‘सांसद अपहरणको यथार्थ यहि संसदमा आउनुपर्छ’ सुवास नेङवाङ

काठमाडौं । सत्तारुढ नेकपाका सांसद संसदीय दलका उपनेता सुवासकुमार नेङवाङले सांसद अपहरणको विषय संसद चल्दाचल्दै यथार्थ रुपमा आउनु पर्ने बताएका छन् ।

आजबाट शुरु भएको संसदको बजेट अधिवेशनलाई संवोधन गर्दै नेता नेङवाङले सत्तारुढ नेकपा कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा नरहेको बताउँदै सांसद अपहरणको विषय छानविन हुनुपर्ने बताएका हुन् । ‘सांसद अपहरणका कुरा विवादै छैन, यहि संसद चल्दाचल्दै यथार्थ आउनुपर्छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौं ।’ नेता नेङवाङले भने ।

उनले कोरोना विरुद्धको लडाई जित्नका लागि आधार तयार गर्नुपर्ने भएकोले यसपटकको संसद त्यसमै केन्द्रित हुने बताए । र कोरोना भाइरसका विरुद्ध सिंगो विश्व एक भएको अवस्थामा नेपाली दलहरुपनि एक ठाउँमा उभिनुपर्ने उनले बताए ।
‘कोरोनाले धेरै नकारात्मक असर र क्षती पुर्याएको छ । ती नकारात्मक असरलाई संवोधन गर्नैपर्छ । प्रिबजेट छलफल, निती तथा कार्यक्रम र बजेट सम्बन्धि छलफल गरेर निष्कर्षमा पुर्याउनु पर्छ ।’ नेङवाङले भने ।

नेङवाङले कोरोना विरुद्ध लकडाउन गर्नुको कारण स्थितिले प्रष्ट पारेको बताउँदै लकडाउनको विकल्प नभएको बताए । ‘कोरोना विरुद्धको यो लडाईमा सिंगो देश एक जुट छ । दलहरु एक जुट छन्, यो साझा विषय हो ।’ उनले भने ।

उनले लकडाउन बाध्यता र आवश्यक्ता भएकोले यसको विकल्प नभएको जिकिर गरे । साथै उनले लकडाउन प्रभाबकारी ढंगले सदुपयोग भएको ठोकूवा गरे ।

‘नेपालको सन्दर्भमा सरकारले विस्तारित हुन दिएन । आजसम्म १०१ संक्रमित हुनु ३० जना निको भएर घर फर्किनु बाँकी सामान्य अवस्थाका विरामी रहनुले सरकारले चालेको कदम प्रभावकारी भएको देखिएको छ ।’ उनले भने ।

नेङवाङले सिंगो देश र जनताको पक्षमा संविधान कार्यान्वयनको लागि काम गर्नुपर्ने बताउँदै विगतका संसदमा उठेका विषयहरु टुंगोमा पुर्याउनु पर्ने बताए ।

उनले संविधान निर्माण गरेर कार्यान्वयन गर्ने सिलसिलामा शान्ति प्रक्रिया अन्तिम टुंगोमा पुर्याउनका लागि शान्ति प्रक्रिया, सत्य निरोपण, वेपत्ता सम्बन्धी कानुनको निर्माण गर्ने सन्दर्भमा आवश्यक विधेयक तयार गर्नेक्रम अन्तिम चरण रहेकोले यहि अधिवेशनबाट शान्ति प्रक्रिया टुंगोमा पुग्नु पर्ने बताए । साथै उनले जवाफदेहिता र पारदर्शिताका पक्षमा संसदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *