सावधानी नअपनाए फेरि लकडाउनमै फर्किनुपर्ने डब्लुएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमै फर्कनुपर्ने चेतावनी दिएको छ ।

नेपालसहित विभिन्न देशहरुले लकडाउनलाई खुकुलो पार्ने भनिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसबुधवारको नियमित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएका हुन् । कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध समेत उनले गरेका छन् ।

महासचिव टेड्रोसले लकडाउन खुलाउनका लागि देशले निगरानी बलियो बनाउनुपर्ने बताए । साथै केसहरु घटिरहेका छन् र संक्रमण नियन्त्रणमा छ भन्ने कुरामा निश्चिन्त हुन उनले भनेका छन्।

यदि देशहरुले यो संक्रमणलाई सावधनीपूर्वक व्यवस्थापन गर्न असफल भए भने लकडाउनमा फर्किनुपर्ने यथार्थता बाँकी नै छ’, उनले भनेका छन् ।

त्यस्तै, मानिसहरु पुग्ने कार्यक्षेत्र, विद्यालय लगायतका स्थानमा नियन्त्रणका उपायहरु अपनाइएका छन् भन्ने कुरामा ध्यान दिन जरुरी रहेको उनले बताएका छन्। त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा जोखिम व्यवस्थापन गर्न सक्षम हुनुपर्नेमा उनले जोड दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका झण्डै १३ लाख मानिस कोरोना निको भएर घर फर्केका छन् ।

पछिल्लो विवरण अनुसार १२ लाख ९९ हजार २ सय ३४ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर २ लाख ६४ हजार ८ सय ११ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३८ लाख १८ हजार ७ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा हजार ५२० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७४ हजार ७९१ पुगेको छ । संक्रमितको संख्या १२ लाख ६२ हजार ६९३ पुगेको छ भने अमेरिकामा संक्रमितमध्ये २ लाख ६ हजार ३८२ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो । त्यहाँ २ लाख १ हजार १०१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *