प्रचण्डलाई भेट्न वामदेव खुमलटारमा

काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम आज खुमलटार पुगेका हुन्। भेटमा उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

शनिवारको सचिवालय बैठकमा उपाध्यक्ष गौतम अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा देखिएका थिए। प्रधानमन्त्री ओली सचिवालयको निर्णयबाट पछि हट्ने सङ्केत पाएपछि उनले आफू केपी ओलीतिर नलागे र तटस्थ रहेको सन्देश अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई पठाएको नेकपा स्रोतले जनाएको छ।

बिहीबार बस्ने नेकपा स्थायी समिति बैठकमा पेस गर्नुपर्ने एजेण्डाबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दैछ। स्थायी समितिमा पेस गर्ने एजेण्डाबारे दुई अध्यक्षबीच पुनः असमझदारी बढेको सङ्केत देखिएको छ। जसका कारण सहमतिको प्रस्ताव लेखन अघि बढ्न सकेको छैन। एक स्थायी समिति सदस्यका अनुसार सचिवालय बैठकमा भएका निर्णयहरू नमान्ने भनेपछि नेकपामा पुनः विवाद आएको हो।

प्रधानमन्त्री ओलीले कतिपय जिम्मेवारी हेरफेर, अध्यादेश प्रकरण र त्यसपछिका परिघटनालगायत विषयलाई अहिले प्रतिवेदनमा समेटेर एजेन्डा बनाउन नसकिने अडान लिएको नेकपाका एक नेताले बताएका छन्। यता प्रचण्ड-नेपाल समूह नेताहरूले भने शीर्ष नेताहरूले मुख थुन्न नपाउने र उक्त विषयमा खुलस्त छलफल गर्न पाउनु पर्नेमा दबाब दिइरहेका छन्।

यही सन्दर्भमा उपाध्यक्ष गौतमले स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार सबै चल्नुपर्नेमा आफू स्पष्ट रहेको आफू निकटका नेताहरूसँग बताउने गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *