सनसिटीका कोरोनामुक्त युवामा पुन: संक्रमणको आशंका

काठमाडौं । कोरोनाभाइरस मुक्त भएका फर्किएका काठमाडौंको सनसिटी अपार्टमेन्टका युवालाई फेरि संक्रमणको आशंका गरिएको छ । संक्रमणमुक्त भइसकेका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमण कायमै रहेको आशंका भएपछि उनीहरुलाई आज बिहान पुनः अस्पताल पुर्‍याइएको हो ।

आमा र छोरासँगै बुहारीलाई पनि अस्पताल लगिएको छ । उनीहरुको थ्रोट स्वाब संकलन गरेर आजै परीक्षणका लागि पठाउने तयारी भएको छ । कोभिड–१९ का बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि पीसीआर मात्र नभई एन्टिबडीसमेत परीक्षण गर्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले बताए ।

डा. मिश्रका अनुसार बिरामीलाई डिस्चार्ज गर्दा पीसीआरबाट नेगेटिभ देखाए पनि एन्टिबडी नबनेको अवस्थामा पुनः संक्रमण हुने खतरा रहन्छ । पीसीआर नेगेटिभ तर कोभिड–१९ विरुद्ध एन्टिबडी पोजिटिभ देखाउँदा सामान्यतया पुनस् संक्रमण हुने जोखिम रहँदैन ।

निको भएर फर्किएका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ
उता नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।

वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४ गते डिस्चार्ज गरिएको थियो । ५ दिनपछि फलोअपमा बोलाएर रगत र घाँटीको र्‍यालको नमुना लिइएको थियो । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा दुई जनामा पोजिटिभ देखिएको हो ।

उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार दुवै जनाको र्‍यालको नमुना आइतबार र मंगलबार पुनः संकलन गरेर काठमाडौं ल्याइएको छ । यसको रिपोर्ट आएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *