रणनीति बनाउन ओली, प्रचण्ड र माधवबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। मंगलबार बिहान उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

तीन नेताबीच स्थायी समिति बैठकमा पेस गर्ने एजेण्डाबारे छलफल भएको बुझिएको छ। शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको थियो। सचिवालय बैठकपछि नेकपामा देखिएको विवाद मत्थर भए पनि प्रधानमन्त्री ओलीको भूमिकाप्रति भने अन्य नेताले आशंका गरिरहेका छन्।

प्रधानमन्त्री ओलीको भूमिकाप्रति सोमबार पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको बुझिएको छ। ओलीले सचिवालय बैठकमा आत्मालोचनासहित गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनको प्रस्ताव स्थायी समितिमा आउनु पर्नेबारेमा नेताहरूले जोड दिएका छन्। अहिले स्थायी समिति बैठकको रणनीति बनाउन पार्टी शीर्ष नेताहरू जुटेका छन्।

पछिल्लो समय पार्टी अध्यक्ष र सरकारको नेतृत्वमा प्रधानमन्त्री ओली विकल्प खोज्ने विषय नेकपा भित्र उठेको थियो। सचिवालय बैठकपछि विवाद मत्थर भएको छ। तर सचिवालयबाट पद बाडफाड गर्ने निर्णयप्रति भने नेताहरूमा असन्तुष्टि कायमै छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा फेरि भ्रामक प्रचार भइरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले पार्टीमा कोही रडाको मच्चाउने योजनामा लागेको समेत बताएका छन्।

यता केही नेताहरूले सरकारले अध्यादेश फिर्ता लिए पनि अध्यादेश ल्याउनुको मनसायबारे प्रधानमन्त्रीबाट जवाफ खोज्ने तयारी गरिरहेका छन्। स्थायी समिति बैठकअघि भोलि सचिवालय बैठक बस्दैछ। उक्त बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेका प्रस्तावमा छलफल गरेर स्थायी समितिमा पेस गर्ने तयारी छ। त्यसका लागि प्रचण्डले पार्टी शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल समेत गरेका छन्।

यही क्रममा शीर्ष तीन नेताबीच मंगलबार भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री ओलीले अब आत्तिनु पर्ने कारण नरहेको र प्याकेजमै सहमति गरेर राष्ट्रिय राजनीतिलाई स्थिर बनाउन आफू पछि नहट्ने विश्वास दिलाएको उनी निकट एक नेताले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *