लकडाउन खुल्नु अघि नागरिकले गर्नुपर्ने २० तयारी

काठमाडौं । सरकारले बैशाख २५ गतेपछि कोरोना भाइरस संक्रमणको जोखिम नभएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । संभवतः सरकारले आज भोली नै लकडाउन खुकुलो बनाउने मोडालिटी बनाउला ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै हामी नागरिकले पनि त्यसको तयारी गर्न आवश्यक रहेको जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेको भनाई छ । पाण्डेका अनुसार सरकारले लकडाउन खुल्ला पार्ने तथा नागरिकले त्यसका लागि आवश्यक सुरक्षा र पूर्व तयारी नगर्ने हो भने कोरोना जुनसुकै बेला घरभित्र आउन सक्छ ।
नागरिकले लकडाउन खोल्नु पूर्व के तयारी गर्नुपर्छ त ? डा. पाण्डेकै शब्दमा ।


१. पोशाकः मास्क, पञ्जा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता व्यवस्थापन गर्ने ।
२. बाटोमाः मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता कायम गर्ने ।
३. काम गर्ने ठाउँमाः साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली सुधार्ने ।
४. व्यक्तिगत अभ्यासः खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छे अघि नगर्ने । आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने र खोक्ने । त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने । कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने । मास्क तथा अनुहारमा हात नलग्ने । सेवाग्राहीसँग दुरी कायम गर्ने । सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी र स्यानिटाइजरको ब्यबस्था गर्ने ।
५. भिडभाडः आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने ।
६. किनमेलः सपिङ्ग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने । घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने । किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने ।
७. अस्पतालः सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने । व्यक्तिगत दुरी कायम गर्ने, मास्क र चस्मा लगाउने ।
८. सार्वजनिक यातायातः सकभर छोटो दुरीको लागि बस नचढ्ने । लामो दुरी भएमा मास्क, चस्मा, पञ्जा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने । सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने र त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने ।
९. औषधि तथा खाधान्नः न्युनतम १ महिनाको स्टक राख्ने । प्राथमिक उपचारका साधन र औषधि अलिअलि भएपनि घरमा राख्ने ।
१०. मानसिक तयारीः कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश र स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १–२ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३ ५ मात्र छ । लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने ।
११. सहि सूचनाः आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने र नसुन्ने । असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने । जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने ।
१२. मितव्ययीः कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने । अनाबश्यक खर्च नगर्ने । बाहिर खाना र खाजा नखाने । सहरमा परिवार पाल्ने संम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने । बच्चालाई गाउँको स्कुलमा पढाउने ।
१३. घर फर्केपछिः कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने । अनि अरु परिवारसँग भेट्ने ।
१४. घरभित्रको दुरीः जेष्ठ नागरिक र बिरामीसँग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने ।
१५. अत्यावश्यक तयारीः नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने ।
१६. आत्मबलः आत्मबल उच्च राख्ने । आफ्नो रोगसँग लड्ने क्षमताप्रति विश्वास गर्ने । मनमा डर, त्रास, चिन्ता आदिको पालनपोषण नगर्ने । उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ ।
१७. व्यायामः सकभर घरभित्र व्यायाम गर्ने । भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिङ्ग गर्न सकिन्छ ।
१८. खानपिनः ताजा, मौसम अनुसारको तथा स्वास्थ्यबर्धक खाना खाने । गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने । चुरोट, खैनी, रक्सी सेवन नगर्ने ।
१९. आत्मनिर्भरताः आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने ।
२०. ब्यबसाय परिवर्तनः अबको २–३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर र होम डेलिभरीको पेशा निकै चल्नेछ । तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने आदि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *