कश्मीरमा भीडन्त, सेनाका कर्णेलसहित ९ को मृत्यु

काठमाडौं । भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र शङ्कास्पद शसस्त्र लडाकूबीच झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मी र चार लडाकूको मृत्यु भएको भारतीय अधिकारीले आइतबार जनाएका छन् ।

तनावग्रस्त भारतीय हिमालय क्षेत्रमा काश्मिरलाई दिएको अर्ध–स्वायत्त व्यवस्थालाई केन्द्र सरकारले गत वर्षको अगस्टमा खारेज गरेपछि आणविक शक्ति सम्पन्न पाकिस्तानले उक्त कदमको विरोध गर्दैै आएको छ।

अर्ध–स्वायत्त व्यवस्थालाई हटाउने सरकारको निर्णयको काश्मिरी नागरिकको एउटा समूहले विरोध गर्दै आएको छ। काश्मिरमा सक्रिय कतिपय समूहलाई भारतले आतङ्कवादीको संज्ञा दिदै आएको छ। भारत र पाकिस्तान दुई अलग मुलुक बनेसँगै विभाजित त्यहाँको समाजका कारण उक्त क्षेत्रमा हजारौँ व्यक्तिको मृत्यु भइसकेको छ।

‘पाकिस्तानसँगको सीमाक्षेत्र नजिक रहेको चङ्गीमुलमा भएको भिडन्तमा भारतीय सेनाका कर्णेल आशुतोष शर्मासहि चार सैनिक, एक विद्रोही विरूद्ध तैनाथ विशेष प्रहरी दस्ताका जवान र दुई विद्रोहीको मृत्यु भएको छ,’ भारतीय सेनाका प्रवक्ता कर्नेल राजेस कालियाले बताए ।

सुरक्षाकर्मीले काश्मिरको उक्त वस्तीमा रहेको एक घरमा खानतलासी गर्ने क्रममा विद्रोही लडाकूले व्यापकरूपमा गोली चलाएपछि भएको झडपमा उनीहरूको मृत्यु भएको सैनिक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सेनाको विज्ञप्तिमा एक जना प्रहरी अधिकारीसहित ती मानिसहरू उक्त घरमा किन बसेका थिए भन्ने खुलाइएको छैन। तर एक प्रहरीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, ‘खानतलासीका क्रममा त्यहाँ पुगेको सुरक्षाकर्मी धरापमा परेको थियो।’

यो घटना दक्षिणी काश्मिरको पालवामा क्षेत्रमा शनिबार ‘छोटो झडप’मा दुई सन्दिग्ध लडाकू सुरक्षाकर्मीको गोली प्रहारबाट मारिएको २४ घण्टाभित्र भएको ती प्रहरीले बताए।

यस वर्ष काश्मिरमा ५४ विद्रोहीको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको छ भने त्यसमध्ये ३० जना भारतमा बन्दाबन्दी शुरू भएको दिनदेखि आइतबारसम्ममा मारिएका एएफपीले सूचना पाएको छ।

गत महिनाको शुरूमा पनि काश्मिर उपत्यकाभित्र करिब दुई दिनको झडपमा कम्तीमा पाँच सैनिक र नौँ विद्रोहीको मृत्यु भएको थियो।

भारत प्रशासित काश्मिरमा पाकिस्तानद्वारा विद्रोहीलाई हतियार उपलब्ध गराई सैन्य गतिविधि सञ्चालन गरी अशान्त बनाएको भारतीय दावी रहेको छ भने इश्लामावादले यसको खण्डन गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *