स्थायी कमिटिको बैठकसम्म टर्यो नेकपाको विवाद, उपनिर्वाचन जितेर प्रधानमन्त्री बन्न गौतमलाई कत्तिको सहज होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिबालय बैठकमा आत्मालोचना गरेपछि तत्कालका लागि नेकपा भित्रको विवाद साम्य भएको छ । भने, प्रधानमन्त्री ओलीको संकटपनि टरेको छ ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछोड्ने अडानमा रहेका ओलीले गत बुधबारको सचिबालयमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने हो भने आफु राजिनामा दिन तयार रहेको बताएर गौतमलाई आफुतर्फ ल्याएपछि नेकपाभित्रको समिकरणमा प्रचण्ड–माधब नेपाल पक्ष कमजोर भयो र ओली एकाएक बलियो भए ।

आज बसेको सचिबालय बैठकमा पार्टीका अध्यक्ष समेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्ड दुवैले सरकार सञ्चालन र पार्टी सञ्चालनमा भएका कमीकमजोरी आगामी दिन सच्याएर जाने भन्दै आत्मालोचना गरेपछि तत्कालका लागि नेकपाभित्रको विवाद साम्य भएको छ । पार्टी भित्रका विवाद हल गर्न स्थायी कमिटि बैठक बोलाउने, पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउने सम्मको निर्णय भएपनि शिर्षस्थ नेताहरुविचको कलह स्थायी कमिटि बैठकसम्मका लागि साम्य भएको हो ।

अब २५ गते बस्ने पार्टीको स्थायी कमिटि बैठकले कस्तो निर्णय गर्छ त्यस अनुसार नेकपाको समिकरण बन्ने एक सचिबालय सदस्यले भने । ‘उहाँहरु (ओली दहाल)ले विगतमा भएका कमीकमजोरी प्रति आत्मलोचना गर्नुभयो, अब २५ गते स्थायी कमिटि बैठक बोलाउने तय भएको छ । त्यहाँ कस्ता एजेण्डाहरु राख्ने २४ गतेको सचिबालय बैठकले तय गर्नेछ ।’ उनले भने ।
उनले बाहिर हल्ला आए जस्तो नेकपा फुटको संघारमा पुगि नसकेको जिकिर गरे । नेकपा मुलुककै ठूलो संगठन भएको पार्टी भएकोले सानातिना अन्तरविरोध हुनु स्वभाभिक भएको बताउँदै दुई ठूला पार्टीहरु एक भएर बनेको दल अहिले नै फुटि हाल्ने अवस्था नरहेको जिकिर गरे ।

‘आन्तरिक विवादहरु हल गर्ने, कार्यकर्ताहरुका गुनासा सुन्ने ठाउँ भनेकै स्थायी कमिटि बैठक हो, सचिबालयले २५ गतेका लागि बैठक डाक्ने निर्णय गरिसकेको छ । तपाईहरु ढुक्क हुनुहोस नेकपा सानातिना भूईंचालो आउँदैमा भत्किहाल्ने कमजोर पार्टी हैन ।’ अध्यक्ष प्रचण्ड नजिक ती सदस्यले भने ।

उनले पार्टीका अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई साइजमा ल्याउन आवश्यक भएको बताए । ‘सरकार सञ्चालन गर्दा उहाँमा जुन दम्भ र अहंकार थियो त्यसलाई कम गराउन पनि स्थायी कमिटि बैठक आवश्यक छ ।’ उनले भने ।
सचिबालय बैठकले आफ्ना कार्यकर्तालाई फुटउन्मुख गतिविधि नगर्न निर्देशन पनि दिएको छ । ‘हाम्रो पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटहरूलाई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ । पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने र पार्टी एकतालाई कमजोर पार्ने पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ ।’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन् ।

पछिल्लो समय सरकारले गरेका प्रायः निर्णयहरु विवादित हुँदा प्रधानमन्त्री ओली पार्टीभित्र एक्लिँदै गएका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधब कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एकै कित्तामा उभिएपछि अल्पमतमा परेका ओलीले एक साताअघि विवादास्पद अध्यादेश ल्याएका थिए । साना दल फुटाउन भनेर जारी गरिएको अध्यादेशले नेकपालाई नै फुटको संघारमा पुर्याइसकेको अवस्था थियो ।

पार्टीभित्रको विवाद हल गर्न बुधबार बसेको सचिबालयमा शिर्षस्थ नेताहरुले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै राजिनामा समेत मागेका थिए । भने, ओलीले बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने हो भने, आफु राजिनामा दिन तयार रहेको बताएका थिए ।

के गौतम उपनिर्वाचनबाट प्रतिनिधिसभामा आउलान् त ?

वामदेव गौतमलाई उपयुक्त समयमा पार्टीले जितेको एक स्थान खाली गराएर उपनिर्वाचन गराएरै प्रतिनिधिसभामा ल्याउने र प्रधानमन्त्री बन्नका लागि संभावनाका ढोका खोल्ने बताइएको छ । तथापि, उपनिर्वाचनमा गौतमलाई जनताले जिताएरै पठाउलान् त ? प्रश्न र चुनौति दुवै स्वभाविक छन् ।

वामदेव गाैतम, तस्विरः फायल

किनभने गौतम पछिल्लो दुई वर्षयता पटक–पटक प्रतिनिधिसभामा आउन खोजिरहेका थिए । बर्दियाबाट हारेका गौतमलाई काठमाडौं, डोल्पा र कास्कीबाट उठाएर प्रतिनिधि सभामा ल्याउने कसरत भएपनि स्वतःस्फुर्त जनताले बहिस्कार गरेका छन् ।

अहिले नेकपाको सरकार आफैंमा अलोकप्रिय भइरहेको अवस्थामा उपनिर्वाचन मार्फत गौतम प्रतिनिधिसभामा आएर प्रधानमन्त्री बन्नु चूनौतिको पहाड फोड्नु जत्तिकै हो ।

यस अघि केपी ओलीप्रति कठोर बनेका गौतम बुधबारको सचिबालयमा ओलीको प्रस्ताव पछि एकाएक लचिलो बनेका थिए । यो विचमा ओलीले गौतम र प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *