कोरोना रोकथाममा नेपालले अपनाएको सुरक्षा सचेतना सार्क राष्ट्रहरु मध्ये राम्रो

काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणमा नेपाल दक्षिण एशियाली देशहरु मध्ये सबैभन्दा अगाडी रहेको पाइएको छ । सार्क राष्ट्रहरु मध्ये नेपालले अपनाएको सुरक्षा, सावधानी उत्कृष्ट रहेको छ ।

नेपालपछि सार्क राष्ट्रहरुमा भुटानले अपनाएको साबधानी राम्रो रहेको छ । नेपाल र भुटानमा हालसम्म कोरोना भाइरसका कारण एक जनाले पनि ज्यान गुमाउनु परेको छैन ।

सार्कका आठ देशहरु मध्ये नेपाल र भुटानमा कोरोना संक्रमितको संख्या पनि कम छ । ६ देशमा कोरोनाका कारण मानिसको मृत्यु भएको छ । सार्क राष्ट्रहरु मध्येकै जनसंख्या र भौगोलिक हिसाबले ठूलो भारतमा अहिलेसम्म एक हजार २२३ व्यक्तिले ज्यान गुमाइसकेका छन् । भारतमा संक्रमितहरुको संख्या अहिलेसम्म ३७ हजार ३३६ पुगेको छ ।

पाकिस्तानमा ४१७ को कोरोनाका कारण मृत्यु भइसकेको छ, १८ हजार ११४ संक्रमित पुगेका छन् । यता बङ्गलादेशमा १७५, अफगानिस्तानमा ७२, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । भारतमा ८९ प्रतिशत भू–भागमा कोभिड– १९ को सङ्क्रमण देखिएकोले यो भयावह हुने आंकलन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सार्क राष्ट्रमा कोरोना रोकथाममा भूटान र माल्दिभ्सपछि नेपाल रहेको छ । माल्दिभ्समा कोरोनाका कारण एकको ज्यान गएपनि त्यहाँ परीक्षणको दायरा बढी छ ।

नेपालको प्रति १० लाखमा दुई हजार २९ जनाको परीक्षण गरिँदा माल्दिभ्समा १४ हजार ८१५ जनामा कोरोना परीक्षण गरीएको छ । भूटानमा प्रति १० लाखमा १३ हजार ९१ जनामा गरिएको छ ।

जनसङ्ख्याको हिसाबले सबभन्दा बढी परीक्षण नेपालमा गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ‘तर भूटान र माल्दिभ्समा कम जनसङ्ख्या भएकाले १० लाखका हिसाबले परीक्षण गराउनेको सङ्ख्या बढी देखिएको हो, समग्रमा हामीले नै बढी परीक्षण गराएका छौँ ।’ उनले भने ।

भारतमा प्रति १० लाखमा ६५४ जनामा मात्र परीक्षण गरिएको छ । नेपालपछि श्रीलङ्कामा एक हजार ४७, पाकिस्तानमा ८२५, बङ्गलादेशमा ४२६, अफगानिस्तानमा २७२ जनामा कोरोना परीक्षण गरिएको छ ।

नेपालमा माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको थियो । दक्षिण एशियाली मुलुकमा नेपालमा पहिलो पटक कोरोना देखिएको थियो ।

हाल नेपालमा १६ स्थानमा पीसीआर मेसिन मार्फत कोरोना परीक्षण गरिएको छ भने र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ७७ वटै जिल्लामा परीक्षण हुन्छ । नेपालमा पीसीआरबाट १३ हजार ९८ र आरडिटीबाट ४८ हजार ५२९ मा परीक्षण गरी जम्मा ६१ हजार ६२७ जनामा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

नेपालमा काठमाडौँ, धादिङ, उदयपुर, झापा, बारा, पर्सा, सर्लाही, रौतहट, रुपन्देही, चितवन, बागलुङ, कैलाली, कञ्चनपुर, बाँके र भोजपुर गरी १५ जिल्लामा ५९ जनामा कोभिड– १९ को सङ्क्रमण देखिएको छ ।

विराटनगरमा ३१, वीरगञ्जमा आठ, चितवनमा एक, धनगढी एक, नेपालगञ्जमा एक र रुपन्देहीमा एक जनाको उपचार भइरहेको छ ।

नेपालमा ८१ वर्षीया र ६५ वर्षीया महिला समेत कोरोनाको सङ्क्रमणबाट पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका छन् । दक्षिण एशियाली देशहरु मध्ये नेपालले अपनाएको कोरोना सुरक्षा लकडाउन र सचेतना प्रभावकारी भएको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *