बम विस्फोटमा ज्यान गुमाएका ४ बालबालिकाको लास अझै उठ्न सकेन

काठमाडौं । हिजो बिहिबार रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर–७ को गैरीगाउँको एक गहुँबारीमा बम विस्फोटमा परी मृत्यु भएका चार जना बालबालिकाको अझैसम्म लास उठ्न सकेको छैन ।

दिनभर बाख्रा चराएर घर फर्कने क्रममा स्थानीय गहुँबारीमा भेटीएको बमलाई खेलौना ठान्दै चलाउँदा बम विस्फोट भएको थियो । बिस्फोटमा सोहि गाउँपालिकाका ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरब नेपाली र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनामा उनीहरुको लास बम विस्फोट भएको १८ घण्टा वितिसक्दा पनि उठाउन सकिएको छैन । उक्त स्थानमा अर्को पनि शक्तिशाली बम भेटिएपछि स्थानीय निकाय र गाउँले जान सकिरहेका छैनन् ।

घटनास्थलमा अर्को विस्फोट नभएको बम फेला परेको जानकारी पाएपछि नेपाली सेनाको बम डिस्फोजल टोली राति नै घटनास्थल पुगेको भएपनि अझै सम्म बम डिस्फोज हुन सकेको छैन ।

बम डिस्पोज नभएका कारण शव उठाउन नसकिएको रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले बताएका छन् । विस्फोट स्थललाई प्रहरीले सिल गरेको छ ।

माओवादी सशस्त्र युद्धका क्रममा घटना भएको रोल्पाको दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो । त्यही समयको बेवारिसे अवस्थामा फेला परेको बम गोठाला गएका बालबालिकाले खेलाउने क्रममा विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार विष्फोट भएको उक्त बम ‘टु ईन्च मोटर’ हो ।

बम विस्फोट भएको स्थानबाट थोरै ढाटा दुम्लाखोलामा २०६२ मा तत्कालीन विद्रोही नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनिन्छ । ०६२ साल ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो । उक्त बम त्यसै बेलाको हुन सक्ने अनुमान गरीएको छ ।

रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले सेनाले अर्को बम डिस्पोज नभएका कारणले शव नउठाएको बताए । बम विष्फोटमा चार बालबालिकाको मृत्यु भएपछि सिंगो गाउँ शोकमा छ ।

रोल्पाको पश्चिम क्षेत्र स्थित त्रिवेणी गाउँपालिका वार्ड नम्वर ७ गौरीगाउँ रोल्पा जिल्लाको सदरमुकाम लिवाङभन्दा करिब ५० किलोमिटर दुरीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *