अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले किन त्यागे राष्ट्रपतिको उम्मेद्वारी ?

चैत्र २७, वासिङ्टन ।  सिनेटर बर्नी स्यान्डर्सले बुधबार अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी परित्याग गरेको घोषणा गरेका छन् ।  

स्यान्डर्सको यो घोषणासँगै अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैँ भएको छ ।  

कोरोना भाइरसको महामारीको पृष्ठभूमिमा हुने आगामी निर्वाचनमा बाइडेनको प्रतिस्पर्धा रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवारी दिने राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।  

स्यान्डर्सले यसपटकको प्राइमरी चुनावका शुरुवाती दिनहरुमा पनि सन् २०१६ को झैं आम मतदातामा व्यापक उत्साह जगाउने विश्वास गरिएको थियो । तर उनले प्रगतिशीलहरूको समर्थनलाई सशक्त रुपमा रूपान्तरण गर्न सकेनन् । लोकतान्त्रिक समाजवादी विचारधाराका अनुयायी स्यान्डर्सले आम मतदातालाई रिझाउन सक्ने सम्भावनामाथि चुनावी प्रचारकै क्रममा प्रश्न उठेको थियो ।  

‘चुनावमा विजयी हुने सम्भावना लगभग असम्भव देखियो,’ स्यान्डर्सले समर्थकहरुलाई बुधबार भने । ‘मनोनयनमा पर्ने केही सम्भावना देखिएको भए म निश्चित रुपमा अभियानलाई जारी राख्ने थिएँ, तर अहिले त्यो सम्भव देखिएन ।’ 

स्यान्डर्सले यसपटकको ह्वाइट हाउसको अभियानका क्रममा चार वर्षअघि हिलारी क्लिन्टनको विद्रोही विकल्पका रूपमा झैं समर्थन जुटाउन सक्नेमा शुरुमै आशंका गरिएको थियो । उनीमाथि आम मतदाताले शुरुदेखि नै प्रश्नहरु गरिरहेका थिए । सन् २०१६ मा २२ वटा राज्यमा विजयी स्यान्डर्स यसपटक डेमोक्र्याटिक पार्टीबाट छनौट हुने निश्चित थिएन ।  

तर स्यान्डर्सले शसक्त चुनावी अभियान र रकमको बलियो समर्थन प्राप्त गरेका थिए । उनले सबैजसो चुनावी चन्दालाई अनलाइनबाट सार्वजनिक गर्नु भएको थियो । पहिलो पटकजस्तै उहाँले यस चुनावी अभियानमा युवा मतदाताका साथै हिस्पानिक समुदायको समर्थन प्राप्त गरेका थिए । तर अफ्रिकी अमेरिकीहरूसँग उनको अपील कमजोर देखिएको थियो ।  

अग्रणी प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सको चुनावी अभियान समाप्त गर्ने घोषणासँगै बाइडेनले बुधबार नै स्यान्डर्सका समर्थकहरुलाई एकताबद्ध भएर चुनावी प्रचारमा लाग्न अनुरोध गरे ।  

‘मलाई आशा छ तपाईंहरु हाम्रो यस अभियानमा सहभागी हुनुहुनेछ,’ उनले एक वक्तव्यमा भने, ‘तपाईँहरुलाई हार्दिक स्वागत छ । तपाइँको यहाँ अति जरुरी छ ।’ 

तर स्यान्डर्सले आफू चुनावी अभियानबाट अलग भएपनि आफू अझै पनि एक शक्तिका रुपमा रहिरहने स्पष्ट पारे ।  

‘कृपया यस लडाइँमा तपाइँहरु मेरो साथमै रहनुहोला, हाम्रो सङ्घर्ष जारी छ’, उनले भने । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *