चिनियाँ विज्ञ भन्छन्– अप्रिल अन्तिमसम्ममा कोरोना नियन्त्रणमा आउँछ

चैत्र २१, काठमाडौं । विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९) अप्रिल महिनाको अन्तिमसम्म नियन्त्रणमा आउने एक चिनियाँ विज्ञले दाबी गरेका छन् ।
कोभिड–१९ सम्बन्धी चिनियाँ सरकारले तयार पारेको विज्ञहरुको समूहका एक सदस्य तथा चीनका श्वासप्रस्वास सम्बन्धी रोगका विज्ञ जोङ नासानले शन्जेनले एक टेलिभिजनसँगको अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् ।
सो अन्तर्वार्तामा उनले विश्वभर अप्रिल अन्तिम सम्ममा कोरोना नियन्त्रणमा आउने, यद्यपी आगामी स्प्रिङमा पुनः आउटब्रेक हुन्छ वा हुँदैन यो भने अनिश्चित रहेको बताएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

‘सबै देशहरुले आक्रमक र प्रभावकारी रुपमा रोकथामका उपायहरु अपनाइरहेका छन्। मलाई विश्वास छ, यो संक्रमण नियन्त्रणमा आउनेछ। मेरो अनुमान अप्रिलको अन्त्यसम्म हुनेछ’, जोङ नासानलेले भनेका छन्– ‘अप्रिलको अन्त्यपछि अर्को भाइरस आउटब्रेक आगामी स्प्रिङमा हुन्छ या हुँदैन अथवा पूर्ण रुपमा गर्मी मौसममा हराउँछ भन्ने कुरा अहिले नै कसैले भन्न सक्दैन। तर, पनि भाइरसको गतिविधि निश्चित रुपमा उच्च तापक्रममा हराउँछ ।’
जोङले के आधारमा आफू उक्त निष्कर्षमा पुगेको सोबारे भने खुलाएका छैनन् । तर, अन्य विज्ञले पनि अमेरिका र युरोपमा भइरहेको पछिल्लो विकासक्रमलाई हेरेर यस्तै प्रक्षेपण गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन डब्लएचओका स्वास्थ्य आपतकालीन कार्यक्रमका निर्देशक माइक रियनले यस साता यस्तै प्रक्षेपण गरेका थिए। उनले आउटब्रेक स्थिर हुने बताएका थिए।
कोरोना रोकथामको प्रभावकारी र प्राथमिक उपाय भनेको मानिसहरुलाई घरमै सीमित बनाउनु रहेको उनको भनाइ छ ।
कोरोना संक्रमणबाट विश्वभर ५० हजार नाघेको छ भने १० लाख बढी मानिसहरु संक्रमित भएका छन् । स्पेनमा मात्रै एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ ।
कोरोनाका कारण सबैभन्दा बढि प्रभावित हुनेहरुमा अमेरिकी रहेका छन् । अमेरिकामा आजसम्म २,४४,८७७ जना प्रभावित भएकोमा ६,०७० को मृत्यु भइसकेको छ । अमेरिकापछि दोस्रो स्थानमा छ इटाली । इटालीमा अहिलेसम्म १३, ९१५ को मृत्यु हुँदा १,१५,२४२ प्रभावित छन् ।
इटालीपछि स्पेनमा सबैभन्दा बढि प्रभावित देखिएको छ । स्पेनमा १०,३४८ को मृत्यु हुँदा १,१२,०६५ प्रभावित भएका छन् । जर्मनीमा १,१०७ को मृत्यु भएको छ । चीनमा ३,३१८ को मृत्यु हुँदा फ्रान्समा ५,३८७, इरानमा ३,१६०, बेलायतमा २,९२१, स्विजरलेण्डमा ५३६, टर्कीमा ३५६, बेल्जियममा १,०११ र नेदरल्याण्डमा १,३३९ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । भने, २,५४३ जना प्रभावित रहेका छन् । नेपालमा हिजोसम्म ६ जना प्रभावित देखिएकोमा एक जना उपचार पछि निको भइसकेका छन् । बाँकी ५ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।








