आवश्यक परे योजना कटौती गरेर राहत दिन्छौः मेयर चौधरी

चैत्र २९, चितवन। खैरहनी नगरपालिकाले लकडाउनको अवधिभर ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूलाई भोकै रहन नदिने जनाएको छ। लकडाउन र यसले पारेका समस्याका विषयमा शनिवार बिहान नगरपालिकामा भएको सर्वपक्षीय छलफलमा खैरहनीका मेयर लालमणी चौधरीले बिहान बेलुका छाक टार्न समस्या पर्नेहरूलाई योजना कटौती गरेर भए पनि राहत दिइने बताए।
‘नागरिकको जीवन सहज र सरल बनाउन नगरपालिका गम्भीर छ,’ मेयर चौधरीले भने, ‘लकडाउनले समस्यामा परेकाहरूलाई आवश्यकता अनुसार राहत दिन्छौ, त्यसका लागि कुनै योजना कटौती गर्न सकिन्छ।’ खैरहनी नगरपालिकाले पहिलो चरणमा नगर भित्रका ३ हजार ६ सय ५९ घरपरिवारलाई राहत वितरण गरिसकेको छ।
जसका लागि विपद्को रकम खर्च गरिएको छ। मेयर चौधरीले राहतका नाममा कसैसँग रकम सहयोगका लागि दबाब नदिने स्पष्ट पारेका छन्। ‘सहयोग भनेर कसैलाई दबाब दिँदैनौ, कोषमा स्वतःस्फूर्त सहयोग भएको छ,’ मेयर चौधरीले भने, ‘इच्छा हुनेले दिन्छन्, उहाँहरूलाई रोकावट पनि हुँदैन।’

वैशाख ३ गतेपछि पनि लकडाउनको समय थपिएमा खैरहनी नगरपालिकाले दोस्रो चरणमा राहत वितरण गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताए। छलफलमा नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल र नेपाली काँग्रेस नगर सभापति शशि कुमार खनियाले गुनासो नआउने गरी राहत वितरण गर्नु पर्ने बताए। साथै उनीहरूले लकडाउनलाई अझ प्रभावकारी बनाउन सुझाव समेत दिए।
इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बहाना बनाएर बजारमा निस्कनेहरूलाई कारबाही गरिएको बताए। ‘आफ्नै ठाउँमा पाइने सामान किन्न बजार नै आउने गरेका छन्’ प्रहरी निरीक्षक मगरले भने, ‘त्यस्तालाई कारबाही गरिएको छ, अत्यावश्यक कामका लागि रोकावट छैन।’ मेयर चौधरीले वाध्यात्मक अवस्थाकालाई व्यवहारिकता हेरिने तर अनावश्यक हिँड्नेलाई कडाइ गर्न आग्रह गरे।








