सांसदको तलब काटेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलबभत्ता बढाऊः गगन थापा

चैत्र २७, काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता बढाउन माग गरेका छन्। अधिकृत स्तरका प्रहरी कर्मचारीको सात दिनको तलब सरकारी राहत कोषमा बुझाउन दिएको निर्देशनको विरोध भइरहेको बेला नेता थापाले तलब बढाउन माग गरेका हुन्।   

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल बढ्ने गरी तलब भत्ता बढाउन माग गरे। त्यसका लागि सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब कटौती गर्न सकिने सुझावसमेत उनले दिए।   

‘महासंकटको यो घडीमा, हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको प्रवाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलबभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौँ,’ नेता थापाले ट्विटरमा लेखेका छन्।   

प्रहरी प्रधान कार्यालयले अधिकृत स्तरका कर्मचारीको सात दिनको तलब सरकारी राहत कोषमा बुझाउन मातहतका सबै निकायलाई परिपत्र गरेपछि त्यसको सामाजिक सञ्जालहरूमा विरोध भइरहेको छ। कोरोना भाइरस विरुद्ध युद्धस्तरमा खटिरहेका प्रहरीको तलब काट्ने अविवेकी निर्णय प्रतिक्रिया आइरहेका छन्।   

कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आवश्यक मेडिकल सामग्री अनि भाइरसबाट बच्न आवश्यक पर्ने मास्क, सेनिटाइजर बजारमा हाहाकार भइरहेका बेला समूहमा बसेर काम गर्नुपर्ने बाध्यता रहेको प्रहरी लकडाउन कार्यान्वयनका लागि उत्रिरहेको छ।  सङ्कटको बेला मन्त्री, सांसद र अरू उच्चपदस्थको वार्षिक तलब घटाउनुको साटो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिएका प्रहरीको तलब काट्ने निर्णय खेदजनक रहेको प्रतिक्रियाहरू आइरहेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *