सत्ता टिकाइ राख्न प्रधानमन्त्रीमा निरंकुश, व्यक्तिवादी सोच हावी भयोः साझा पार्टी
वैशाख ९, काठमाडौं। साझा पार्टीले अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको आरोप लगाएको छ। ‘आम विश्वास गुमाएपछि, आफूलाई सत्तामा कायम राख्न प्रधानमन्त्रीमा स्पष्टत निरंकुश, व्यक्तिवादी सोच हावी भएको देखिन्छ।’ साझा पार्टीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पार्टीका अर्का अध्यक्षसँग छलफल नगरि प्रधानमन्त्री ओलीले छापामार शैलीमा दुई अध्यादेश मन्त्रीपरिषद् बैठकमा पेश गरेको साझा पार्टीको आरोप छ। महामारीको कठिन परिस्थितिबाट गुज्रिरहेको बेला प्रधानमन्त्रीबाट गैरजिम्मवार काम भएको बुझाइ उसको छ। ‘देश कोरोनाभाइरस संक्रमणका कारण कठिन र अनिश्चयको परिस्थितिबाट गुज्रिरहेको बेला थोरैमात्र मानवीय विवेक र राजकीय जिम्मेवारीको वोध भएको नेताले गर्नै नसक्ने काम प्रधानमन्त्रीबाट भएको छ।’
कोरोना विपद्का बेला समेत चरम भ्रष्टाचार हुँदा र सरकाररका काम कारबाही चित्त नबुझ्दा चुप रहेर साथ दिइरहेका जनतामाथिको अपमान भएको साझाले बताएको छ। ‘संसदमा बलियो जनमत हुँदाहुँदै पार्टी फूट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौँको लोकतान्त्रिक संघर्षकै उपहास हो।’ साझाले विज्ञप्तिमा आरोप लगाएको छ। साझाले यसलाई अनिष्टकारी कदम भन्दै तुरुन्त तुरुन्त फिर्ता लिन माग गरेको छ।