नेपालमा रोकिएका २ हजार ३७० विदेशी नागरिक घर फर्किए

काठमाडौं । कोरोना भाइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका २ हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन् । 

नेपालको विभिन्न स्थानमा पदयात्राका क्रममा रोकिएर रहेका विदेशी नागरिहरुलाई नेपालपर्यटन बोर्डले काठमाडौं सम्म ल्याउने व्यवस्था मिलाएको थियो । काठमाडौंमा जम्मा भएका विदेशीलाई उनीहरुकै मुलुकले जहाज चार्टर्ड गरी लगेका हुन् । अहिले १हजार ३७८ विदेशी नागरिक बोर्डको सम्पर्कमा आएका छन् । अन्य विदेशी कहाँ कति सङ्ख्यामा छन् भन्ने कुनैपनि निकायसँग विवरण नभएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले आजसम्म दुई हजार ३७० विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको बताए । 

उनले देशका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका १ हजार ७२१ जनालाई बोर्डले उद्धार गरी स्वदेश फर्कन सहजीरण गरेको जानकारी दिए । 

विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् भन्ने अझै यकिन विवरण आइनसकेको बोर्डले जनाएको छ ।   

अध्यागमन विभागको मार्च २१ सम्मको तथ्याङ्क हेर्दा २ हजार ५०० विदेशी नागरिक नेपाल आएका छन् । यीमध्ये १ हजार २०० स्वदेश फर्केको रेकर्ड छ । अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको छ । नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेको बोर्डको अनुमान छ । अन्य विदेशी नागरिक कहाँ कुन अवस्थामा छन् अहिले नै भन्न नसकिने सरोकारवाला निकाय बताउँछन् । नेपालमा करिब १० हजार विदेशी नागरिकले प्रवेशाज्ञा (भीषा) थपेर बसेको बताइन्छ । 

कोभिड–१९ को जोखिम हुन नदिन सरकारले चैत ११ देखि २५ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा यहाँ रोकिएका विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको हो ।   

सरकारले गत चैत ९ गतेदेखि वैशाख ३ गतेसम्म मुलुकमा भित्रने सबै अन्तरराष्ट्रिय वायु सेवा कम्पनीको उडान बन्द गरेको छ । आन्तरिक उडान पनि बन्द गरिएको छ । यो अवस्थामा नेपालका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका विदेशी पर्यटकलाई हवाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो । कतिपय विदेशीलाई सडकमार्ग भएर पनि ल्याइयो । पोखरा, चितवन, लुक्ला, मुस्ताङको जोमसोमलगायत गन्तब्यबाट पर्यटकलाई उद्धार गरिएको थियो । नेपालको आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीका जहाज मार्फत विदेशीको उद्धार गरिएको थियो । 

अन्तरराष्ट्रियतर्फ पनि निगमको वाइड बडी जहाजले अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिकलाई चार्टर्ड उडानमार्फत गन्तब्यमा लगेको थियो भने सबैभन्दा बढी कतार एयरवेजले विदेशी नागरिक बोकेको छ । उक्त कम्पनीको जहाजले युरोपेली मुलुक फ्रान्स, जर्मनीलगायत मुलुकका मात्र नभई तीन सयभन्दा बढी अमेरिकी नागरिकलाई पनि उनीहरुको देश पुर्‍याएको छ । पछिल्लो पटक हिजो चार देशले चार्टर्ड उडान गरी आफ्ना नागरिक लगे । 

लकडाउनको आज १३ औँ दिनको अवधिमा दिनहुँजसो अन्तरराष्ट्रिय चार्टड उडान भइरहेका छन् आज पनि अमेरिकाले अफ्ना ३०५ जना नागरिकलाई कतार एयरवेजको जहाज चार्टर्ड गरी स्वदेश लैजादैछ । 

नेपालमा रोकिएकामध्ये कतिपय विदेशीको प्रवेशाज्ञा अवधि सकिएको छ । त्यस्ता विदेशीसँग लकडाउनका कारण उनीहरुलाई घर फर्किन केही दिन ढिला भए कुनैपनि शुल्क नलिने सरकारले निर्णय गरेको थियो । तर पछिल्ला केही दिनको उडानमा घर फर्कने विदेशी नागरिकलाई अध्यागमनले ४५ अमेरिकीडलर जरिवाना लिएकोमा सम्बन्धित मुलुकका नागरिकले गुनासो गरेका छन् । 

हिजो मात्रै चेकरिपब्लिकनको नेपालस्थित वाणिज्यदूतले अतिरिक्त शुल्क लिएकोमा पर्यटन बोर्डसँग गुनासो गरेको बुझिएको छ । अध्यागमन विभागले भने लामो समयसम्म रहेका विदेशी नागरिकलाई प्रवेशाज्ञा दस्तुर मात्रै लिएको तर पेनाल्टी शूल्क नलिएको स्पष्ट पारेको छ । पर्यटकको प्रवेशाज्ञा सकिएमा एक दिन भए पनि १५ दिन भएपनि न्यूनतम ४५ डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले उल्लेख गरेको छ । नेपालमा पर्यटकको हकमा बढीमा तीन महिनासम्मको भिषा अवधि हुन्छ । विदेशी नागरिकलाई ९० दिन, ६० दिन र ३० दिनको प्रवेशाज्ञा अवधि दिइन्छ । 

के गर्दैछ अध्यागमन विभाग ? 

मुलतः प्रवेशाज्ञा प्रक्रिया, विदेशी नागरिकको आवत जावतको सूचना व्यवस्थापनमा सक्रिय हुने अध्यागमन विभाग यतिखेर मुलुक लकडाउनका कारण तुलनात्मकरुपमा कामको बोझ कम छ, तर पनि विभागको व्यस्तता उत्तिकै छ ।   

विदेशी नागरिकलाई उनीहरुको मुलुक फर्कनका लागि सहजीकरण गर्नेदेखि विदेशबाट आएका नेपालीमा कोभिड संक्रमण फेलापरेका व्यक्तिसँगै आएका अन्यको खोजीकार्यमा विभागले सक्रिय भूमिका निर्बाह गरिरहेको छ । विभागले स्वास्थ्यकर्मी तथा नेपाल प्रहरीको सहकार्यमा उनीहरुको खोजी गरिरहेको हो । 

विभागका महानिर्देशक रमेशकुमार केसीले नेपालमा रहेका विदेशीलाई उनीहरुको मुलुक फर्कनका लागि उद्धार उडानको सहजीकरणलगायत काम गरिरहेको जनाएका छन्। महानिर्देशक केसीले भने,“अध्यागमन विभागले पर्यटकको सूचना व्यवस्थापनका साथै स्वदेश फर्कन चाहने विदेशीको उद्धार उडानका लागि सहजीकरण गरिरहेको छ । विदेशबाट फर्केर कोभिड संक्रमण फेला परेकोका नेपालीसँगै जहाजमा आएका अन्यको खोजी कार्यमा विभागले सक्रियता जनाएको छ ।”   

अध्यागमनलाई पनि नेपालमा के कति सङ्ख्यामा विदेशी नागरिक रहेका छन् भन्ने यकिन विवरण छैन । अहिले पनि १० देखि १२ हजारको सङ्ख्यामा विदेशी नेपालमा रहेको विभागको अनुमान छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *