राज कपुरले ‘मेरा नाम जोकर’को घाटा उठाउन बनाएका थिए ‘बबी’

काठमाडौं । यो साता बलिउडले दुई हस्तीहरुलाई गुमाएको छ । हिजो र आज २ दिनमा बलिउडले सन् ७० देखि ९० सम्म बलिउड फिल्म इण्डष्ट्रीमा एक छत्र राज गर्न सफल चकलेटी हिरो ऋषि कपुर भर्सटायल एक्टर इरफान खानलाई गुमायो । एक सातामा दुइ सफल कलाकार गुमाउँदा बलिउड शाेकमा छ ।

जाेकर देखि बबी हुँदै द बडीसम्मकाे यात्रा

फिल्म जाेकरमा किशाेर ऋषि कपुर

सेप्टेम्बर ४, १९५२ मा जन्मिएका ऋषि कपुरले सन् १९७० मा ‘मेरा नाम जोकर’बाट बलिउडमा पाइला चालेका थिए । यसअघि नै ‘श्री ४२०’ मा बाल बलाकारको भूमिका निर्वाह गरेका ऋषि कपुरलाई बलिउडमा राज कपुर निर्देशित ‘मेरा नाम जोकर’ ले १९७० मा चिनायो । ऋषि कपुर आफ्नो डेब्यू फिल्म नै ‘मेरा नाम जोकर’ लाई मान्दछन् ।

पहिलाे फिल्मबाटै नेशनल अवार्ड

फिल्मको बजेट यति धेरै थियो कि, त्यो वर्षकै सुपरहिट फिल्म भएपनि ‘मेरा नाम जोकर’ ले लगानी उठाउन सकेन । २३९ मिनेट लामो फिल्ममा ऋषि कपुरले राज कपुरको युवावस्थाको भूमिका निर्वाह गरेका छन् । उनको अपोजिटमा डिम्पल कपाडीया छिन् । ऋषि कपुरले सो बेला राष्ट्रिय अवार्डमा बेस्ट बाल कलाकारको अवार्ड पाए । पछि ऋषिले डिम्पलसँग सन् १९७३ मा ‘बबी’ मा लीड रोल गरे जुन भारतीय फिल्म इतिहासमा अर्को सफल फिल्म घोषित भयो । ‘मेरा नाम जोकर’बाट राज कपुरले बेस्ट डाइरेक्टरको अवार्ड पाए । यसले १९ औं फिल्म फेयर अवार्डमा ५ वटा अवार्ड प्राप्त गर्दा १८ औं नेशनल अवार्डमा पनि चार वटा अवार्ड हासिल गर्यो ।

फिल्ममा राज कपूरले इमिनेमिक पात्रको रूपमा अभिनय गरेका छन् जसले दुखःमा पनि हास्नु पर्दछ भन्ने सन्देश प्रवाह गर्दछ । फिल्मका गीतहरुले त्यत्ति बेला तहल्का मच्चाएका थिए । फिल्ममा भारतीय कलाकारसँगै रसियन कलाकारले पनि अभिनय गरेका थिए । ‘ए भाई जरा देखके चलो’ ‘जिना यहाँ मर्ना यहाँ’ ‘केहेता है जोकर’ ‘जाने कहाँ गए वो दिन’ जस्ता कालजयी गीत भए । यहि फिल्मबाट शंकर जयकिसनले दुई वटा फिल्म फेयर अवार्ड पाए । फिल्ममा आशा भोसले, मोहम्मद रफी, मुकेश आदीले स्वर दिएका छन् ।

राज कपुरले ‘मेरा नाम जोकर’ लाई जिवनकै महत्वपूर्ण फिल्म भने । त्यत्ति बेलाका फिल्म समिक्षकले ‘मेरा नाम जोकर’लाई दशककै उत्कृष्ठ फिल्म भने । सोभियत संघमा फिल्मले राम्रो ब्यापार गर्यो । फिल्मले १६.८१ करोड अमेरिकी डलर ब्यापार गरेको अनुमान गरिएपनि लगानी उठाउन सकेन ।

जाेकरकाे घाटा उठाउने ‘बबी’ 

‘मेरा नाम जोकर’ पछि ऋषि कपुरले डिम्पलसँग लभर ब्वाइको सोलो रोल गरेको ‘बबी’ भारतीय फिल्म इतिहासकै सफल फिल्म भयो । भनिन्छ ‘मेरा नाम जोकर’ बाट नराम्ररी घाटा खाएका राज कपुर जो ऋषि कपुरका पिता हुन् उनले ‘मेरा नाम जोकर’ को लगानी उठाउनकै लागि ‘बबी’ बनाएका थिए ।

फिल्म बबी

राज कपुर ‘बबी’ मा त्यत्ति बेलाका सुपरस्टार राजेश खन्नालाई फिल्ममा लिन चाहन्थे, तर उनी ‘मेरा नाम जोकर’ बाट टाट पल्टिएका थिए । राजेश खन्नालाई दिने पैसा समेत उनीसँग थिएन । त्यहि भएर उनले आफ्नै छोरा ऋषिलाई ‘बबी’ मा लभर ब्वाइको रोलमा उभ्याए । फिल्म दशककै सुपरहिट भयो । यहि फिल्मबाट उनले सन् १०७४ मा बेस्ट एक्टरको फिल्म फेयर अवार्ड पाए ।

भनिन्छ ऋषि कपुरको बलिउडमा इन्ट्री पछि त्यस अघि लभर ब्वाइका रुपमा चलेका राजेश खन्ना सुस्ताए । बबीको सफलतापछि ऋषि कपुर भारतीय फिल्ममा सर्वाधिक पारिश्रमिक लिने कलाकार भए ।

५१ साेलाे फिल्ममा ११ सुपरहिट

ऋषि कपुरले सोलो रोल गरेका ५१ फिल्म मध्ये ११ वटा भारतीय फिल्म इण्डष्ट्रिमा सुपरहिट फिल्म भएका छन् । बबी, लैला मजनु, रफु चक्कर, सरगम, कर्ज, प्रेम रोग, नागिन, हनिमुन, चाँदनी, हिना, बोल राधा बोल हिट भएका छन् । बाँकी ४० फिल्म मध्ये केहीले लगानी उठाउन सके भने केही सुपर फ्लप पनि भए ।

नितुसँग १५ फिल्म

श्रीमती नितुका साथ ऋषि कपुर

ऋषि कपुरले १९८० मा नायिका नितु सिंहसँग विवाह गरे । ऋषि र नितुले १५ वटा फिल्म सँगै गरेका छन् । नितूले १९६६ मा सुरजबाट बलिउडमा बाल कलाकारको रुपमा उदाएकी थिएन् । ऋषि र नितुले धन दाैलत, अन्जाने मे, दुसरा आदमी,  अमर अकवर एन्थाेनी,  रफु चक्कर, खेल खेलमे, जिन्दा दिल, जेहेरिला इन्सान, कभीकभी हुँदै पछिल्लाे समय लभ आज कल, वेशरम, दाे दुनी चारमा सँगै अभिनय गरेका छन् ।

ज्यासमिनसँग सम्बन्ध विग्रनुकाे कारण

भारतीय फिल्म उद्याेगमा ऋषि यस्ता कलाकार हुन् जसकाे फिल्म क्षेत्रमा खासै अफेयर चलेन । उनले १९८० मा नायिका नितुसँग विवाह गरे । यस अघि उनकाे बबी फिल्म गर्दा गर्दै डिम्पल कपाडीयासँग सम्बन्धकाे चर्चा चल्याे । डिम्पलकाे राजेश खन्नासँग विवाह भएकाे थियाे । तर, ऋषि कपुरकाे डिम्पलसँग अफेयर छ भनेर भारतीय मिडियामा समाचार प्रकाशित भएपछि उनकी प्रेमिका ज्यासमिनले छाडिन् । त्यसपछि ऋषिकाे जीवनमा नितुकाे प्रवेश भयाे ।  ऋषिले ज्यासमिनलाई यति धेरै प्रेम गर्दथे कि नितुसँग विवाह भएपछि पनि उनले ज्यासमिनलाई पुनः आफ्नाे जिवनमा आइदिए हुन्थ्याे भन्ने गरेका थिए ।

सन् ७० देखि २०१९ सम्मै सक्रिय ऋषि

कपुर खानदानका ऋषि कपुर भाग्यमानी कलाकार हुन जसले भारतीय फिल्म उद्योगमा छिर्न सकस गर्नु परेन । पिता राज कपुरको पदचाप पछ्याउँदै मेरा नाम जोकर र बबी, लैला मजनु, प्रेम रोग, हिना, बोल राधा बोल हुँदै पछिल्लो समय धेरै फिल्ममा सपोर्टिङ रोल गरे । सन् २००० यता पनि उनी भारतीय फिल्म उद्योगमा सक्रिय थिए । बढ्दो उमेरसँगै उनी सह–कलाकारको रुपमा बलिउडमा सक्रिय थिए ।

२००० यता उनले अभिनय गरेका ये है जलवा, फना, नमस्ते लण्डन, लभ आजकल, पटियाला हाउस, अग्निपथ, हाउसफुल २, कपुर एण्ड सन्स, जव तक हे जानमा अभिनय गरेका सफल फिल्म हुन् । उनको सन् २०१९ मा दुई फिल्म आएका थिए ‘झुटे कहिँ के’ र ‘द वडी’ । उनी अभिनेत्री दीपिका पादुकोणसँग हलिउड चलचित्र द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने तयारीमा थिए ।

एक दर्जन अवार्ड तर, पद्म श्री पाउन सकेनन्

ऋषि कपुरले भारतीय फिल्म क्षेत्रको प्रतिष्ठित नेशनल अवार्ड, जि सिने अवार्ड, फिल्म फेयर अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, टाइम्स अफ इण्डिया अवार्ड तथा रसियन सम्मान लगायत एक दर्जन अवार्ड हासिल गरेका छन् । तर, भारतकै प्रतिष्ठित पद्मश्री अवार्ड भने पाउन सकेनन् ।

गाइकाे मासुले निम्त्याएकाे विवाद

तीन वर्ष अघि  ऋषि कपुरले हिन्दु धर्मावलम्बीहरुले गाईको मासु खाँदा हुन्छ भनेर अभिब्यक्ति दिए । ट्विटरमा उनले ब्यक्त गरेकाे अभिब्यक्ति हिन्दु धर्मावलम्बीका अगाडी उनी खलनायक भए ।

खुल्लम खुल्लाः कपुर अनसेन्सर

ऋषि कपुरको आत्मकथा खुल्लम खुल्लाः कपुर अनसेन्सर सन् २०१७ मा आएको थियो । यो पुस्तक उनले लेखक मीना एैयरसँग लेखेका हुन् । यसमा ऋषिले भारतीय फिल्म क्षेत्रका आफ्ना संघर्ष र सफलता तथा विवाद लाई अगाडी ल्याएका छन् ।

अभिनेता विनाेद खन्नासँग

एक्सन फिल्ममा जम्न नसकेका ऋषि

बलिउडमा ऋषि कपुरलाई युवापुस्तामा अत्याधिक रुचाइएका कलाकारका रुपमा लिइन्छ । उनी एक्सन फिल्ममा खासै जमेनन् । बबी, लैला मजनु, सरगम, रफु चक्कर, प्रेम रोग, नागीन, हनिमुन, हिना, बोल राधा बोल जसमा उनले सोलो रोल गरेका थिए यी फिल्महरु माया प्रेमका प्लटमा तयार पारिएका थिए । सन् २०१२ मा रिलिज भएकाे अग्निपथमा भने उनी भिलेनकाे राेलमा थिए जहाँ उनले वेस्ट भिलेनकाे अवार्ड नै हात पारेका थिए ।

बाेनम्याराेबाट पिडित

ऋषि कपुर पछिल्लो समय बोनम्यारो क्यान्सरबाट पिडित थिए । उनको २ वर्ष अघि अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार भएको थियो । उनको हिजो मात्रै स्वास्थ्यमा समस्या आएपछि मुम्बइ स्थित रिलायन्स फाउण्डेशन हस्पिटलमा भर्ना गरिएको थियो । उनको आज ६७ वर्षको उमेरमा निधन भएको छ । कपुरका एक छोरा रनविर कपुर बलिउडमा स्थापित भइसकेका छन् । छोरी रिद्धिमा चर्चित डिजाइनर हुन् ।

ऋषी कपुरकाे निधनले बलिउडका उनका समकालिन कलाकार स्तब्ध भएका छन् । अमिताभ बच्चन, अनुपम खेर, रनधिर कपुर, शक्ति कपुर,  करण जाैहर लगायत अहिले र पछिल्ला पुस्ताका कलाकारले समवेदना दिएका छन् ।

अलविदा कपुर साहेव !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *