यो कथा होइन, करोडपति बन्ने सुत्र हाे

केहि दिन पहिले मेरा मित्र प्रवेशजीले फोन गरेर भन्नुभयो –सर ! म त करोडपति बनें नि ! मलाइ लाग्यो, निम्न आय भएका प्रवेशले आफुलाई व्यंग्य गरेर रोडपतिको ठाउँमा करोडपति भने होलान् । म अलमल परेको अनुमान गरेर उनले थपे –हामी ६ जना मिल्ने साथीहरुले लकडाउन भएपछि बिभिन्न बिकल्पमा योजना बनाउँदै छलफल गर्यौं । हामीसँग पैसा थिएन । तर बाँच्नु थियो । हामीले सोच्यौं –यो लकडाउनको समयमा तथा लकडाउन पछि धेरै ब्यबसाय चल्ने छैनन् । नचल्ने ब्यबसाय सुरु गरेर हामी थप डुब्ने काम गर्नु उपयुक्त लागेन । त्यसपछि एउटा योजना बनायौं ।

योजना अनुसार २ जना साथी धादिङ्ग तथा नुवाकोटका गाउँगाउँ जानु भयो । एउटा साथीले प्रचारप्रसारको जिम्मा लिएर अनलाइनको काम सम्हाल्नुभयो । अर्को साथीले स्टोरको काम सम्हाल्नुभयो । हामी २ जना बाइक लिएर घरघर पुग्ने भयौं । गाउँमा गएका साथीहरुले ओर्गानिक तरकारी, अन्न, दल्हन, तेल, घ्यु, मह संकलन गरेर सितापाइलास्थित स्टोरमा ल्याउने काम गर्नुभयो, अनलाइन बुस्ट गरेर प्रमोसन गर्ने, अर्डर लिने लिने काम हुँदै गयो ।

हामी २ जनाले अर्डर आएका ठाउँमा सामान पुर्याउन थाल्यौं । कामको चाँप निकै बढ्यो । अर्डर निकै आयो । हामीलाई सामान पुर्याउन निकै गाह्रो भयो । त्यसपछि हामीले २ जन स्थानीय किसानसँग मिलेर अल्पकालको लागि सामान खरिद गर्ने, काठमाडौं ल्याउने गर्न थाल्यौं भने दीर्घकालिन ब्यबसायको लागि ६० रोपनी जग्गा लिजमा लिएर खेतीपाती सुरु गर्यौं ।

जग्गा लिजमा लिएको १ महिना नपुग्दै हामीले फापर, तोरी, रायो, मेथी, धनिया, चम्सुर, हरियो लसुन, हरियो प्याज, बन्दा,लाम्चो फर्सी, बकुला, केराउ लगायत तरकारी तयार गर्यौं । अर्को लटको लागि सिमी, बोडी, भिंडी, भान्टा, करेला, घिरौंला, लौका, चिचिन्नो, फर्सी, काँक्रो, मुला, गाजर, गोलभेंडा, भेंडे खुर्सानी लगायत तरकारी रोपेका छौं । च्याउ खेतीको लागि १० वटा टनेल बनाउदै छौं । लोकल तथा ब्रोइलर कुखुरा, बाख्रा, बट्टाइ पालन गर्ने तयारी गर्दैछौं । थप जग्गा लिजमा लिएर मौसम अनुसारका बाली लगाउने सोंचमा छौं । फलफुल खेतीको लागि अध्ययन गर्दैछौं । त्यस्तै जडिबुटी खेतीको लागि परामर्श गर्दैछौं ।

म छक्क परें । हिजोसम्म काम खोज्न हिँड्ने प्रवेशजीले अहिले लगभग एकदर्जनलाई रोजगारी दिएका छन् । उनीहरुको समुह यसरी खटेको छ कि त्यो खटाइ सुन्दा मलाइ लाग्यो, अब युग अनुसार आफुलाई ढाल्ने हो भने नेपालमा कोहि पनि बेरोजगार हुनेछैन । गाउँका बाँझा खेतबारी तथा पाखाहरु आवाद हुनेछन । ठूलो महामारी तथा बिपत्ति अवसर पनि बनेर आउँदोरहेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *