कोरोना अस्थायी अस्पतालको सौचालय बनाउन मात्रै लाग्यो २५ लाख !, अनियमितताको आशंका

भरतपुर । चितवन स्थित कोरोना विशेष अस्पताल निर्माण गर्दा अपारदर्शी रुपमा काम भएको देखिएको छ । कोरोनाको उपचार र व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाले निर्माण गरेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल निर्माणमा चरम आर्थिक अपारदर्शिता देखिएको हो ।

चीनले एक सातामा हजार वेडको अस्थायी अस्पताल बनाए जसरी नेपालमा पनि ७२ घण्टामा अस्पताल निर्माण गरिएको भन्दै प्रचार गरिएको अस्थायी कोरोना अस्पताल निर्माणमा लाखौं रुपैंया अनियमितता भएको आशंका सरोकारवालाहरुले गरेका छन् ।

कोरोना अस्पतालमा लाखौँ रुपैयाँ अनियमितता भएको आशंका कार्य दलमा रहेकाहरुले नै गर्दै आउँदा अस्पतालमा कार्यरत कर्मचारीहरु नै अस्पतालका सामग्री चोरीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि यो विषय पेचिलो बन्दै गएको छ ।
अस्पताल निर्माणमा गरिएको खर्च कार्यदलका सदस्यहरुलाई जानकारी नै नगराई अनुमोदन गरिएको विवरण सार्वजनिक भएपछि कार्यदलका सदस्यहरुले आपत्ति जनाएका छन् ।

अस्पताल सञ्चालन गर्नकालागि भरतपुर महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार रुपैयाँ पेस्की दिइएको थियो । भने, वाग्मती प्रदेश सरकारले भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न चैत २० गते एक करोड रुपैयाँ पनि दिएको थियो ।

लेखा परीक्षण गर्ने, गराउने, आर्थिक नियम अनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा अस्पतालका लेखापाल फडिन्द्र खनाल र अस्पतालका सदस्य सचिव डा. भोजराज अधिकारीलाई दिइएको थियो । अस्पताल निर्माणमा भरतपुर महानगरपालिका र अस्पताल प्रशासनले दिएको आर्थिक विवरण नै फरक भएपछि अस्पताल निर्माणमा लाखौं अनियमितता भएको आशंका उठेको छ ।

कोरोना अस्पताल सञ्चालन कार्यदलको बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएका थिए भने, यता अस्पतालले वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । अस्पतालले दिएको विवरणअनुसार वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम मात्र भुक्तानी भएको छ ।

अस्पताल निर्माणमा क्वारेण्टीन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८, एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक वापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।

अस्पतालले पीपीई र एन ९५ मास्कमा मात्रै भ्याटसहित करिब ३४ लाख खर्च गरेको देखाएको छ । अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधी खरिद र मेसिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । जसको लागि ४५ लाख खर्चको सिलिङ तोकिएको थियो । १८ लाखको हिसाब अस्पतालले देखाउन सकेको छैन ।

सार्वजनिक खरिद ऐनको खरिदसम्बन्धी व्यवस्थामा पाँच लाखसम्मको खर्चमा तीन वटा सप्लायर्ससँग दरभाउ पत्र मागेर सबभन्दा कम गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दामाथि टेन्डरमा जानुपर्ने नियम छ । तर, अस्पतालले खरिद गरेको अधिकांश सामानहरु प्रकृया विपरित रहेको देखिएको छ । चैत्र ७ मा खुलेको अस्पतालमा १५ गते अधिकांश सामान ल्याएको देखिन्छ । एकै व्यक्तिका अलग-अलग फर्मबाट समेत सामान उठाइएको छ ।

अस्पताल ब्यवस्थापनले नेसनल सर्जिकल हाउस, मेडिलाइन इक्युपमेन्ट सर्भिस, महेश मेडिसिन्स प्रा.लि र समृद्धि गार्मेन्ट प्रा.लि. बाट सामान खरिद गरेको छ । जहाँ दुई हजारदेखि २५ सय पर्ने पीपीईलाई छ हजार पाँच सयसम्म खरिद गरिएकाे छ ।

कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले विज्ञप्ति निकालेर सोमबारको बैठकले आयव्यय विवरण अनुमोदन गरेको बताएका छन् । भने कार्यदलका केही सदस्यहरुले  आयव्यय विवरण अनुमोदन गरीएको जानकारी नभएको बताएका छन् । कार्यदलका प्रवक्ता भाेजराज अधिकारीले आय-व्यय अनुमोदनका बारेमा आफुलाइ कुनै  जानकारी नभएको बताएका छन् । नेपाली कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ पनि खर्च विवरण अनुमोदन बैठकबाट नगरिएको बताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *