ट्रम्पले भने- ‘किम जङ-अन के गरिरहेका छन् मलाई थाहा छ’

काठमाडौं । कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको बताएका छन् । गत शुक्रवारपछि पहिलो पटक कोरोनाभाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनबारे टिप्पणी गरेका हुन् । उनले ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थाप्रति पनि आफू खुसी हुन नसक्ने धारणा राख्दै भने, ‘किनकि यस (कोरोनाभाइरस) लाई मूलमै रोक्न सकिन्थ्यो । चाँडै रोक्न सकिन्थ्यो । र, यो विश्वभरि फैलिएको हुँदैनथ्यो ।’ कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको वारंवार आलोचना गर्दै आएका छन् ।ट्रम्पले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्‍याउन नसकिने बताए । कोभिड-१९ रोक्न चीन पूर्णतः असफल भएको ट्रम्पको दाबी छ । ट्रम्पले आफूले अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहमा पुर्‍याएको तर त्यसलाई बन्द गर्न दबावमा परेको पनि बताए ।
उनले परीक्षणहरू बढाउने योजना पनि सार्वजनिक गरेका छन् । अमेरिकामा ५५,००० जनाभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

किम सकुशल
उत्तर कोरियाली नेता किम जङ-अनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला सोही पत्रकार सम्मेलनमा किमले के गरिरहेका थिए भन्ने आफूलाई थाहा भएको ट्रम्पले बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल थिए भन्नेमा आफू रहेको बताए ।

दुई साताअघि उत्तर कोरियाली संस्थापक नेताको जन्मजयन्तीमा समेत सहभागी नभएपछि किमबारे अनेक अड्कलबाजी सुरु भएको थियो । दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियामा कुनै पनि अस्वाभाविक कुरा नदेखिएको बताएका छन् । –बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *