नेकपामा बढ्दो विवादः समाधान के ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद र टकराव बढ्दै गएको छ। सत्तारुढ दलकै वर्तमान सरकारका पछिल्ला निर्णयले पार्टीभित्रको विवादलाई अझ उत्कर्षमा पुर्‍याएको छ। विशेष गरी अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरणको अवस्था सिर्जना गरेको हो।

शीर्ष तहका नेताहरू पछिल्लो समयमा विकसित राजनीति परिवेशका बारेमा बेग्ला–बेग्लै आ-आफ्नो समूहमा छलफल र परामर्शमा गरिरहेका छन्। भावी कदम र अबका रणनीतिमा केन्द्रित रहेर समूहका नेताहरूसँग परामर्श गरिरहेका छन्। अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा पार्टीको विधानअनुसार आफू चल्ने र अब मिलेर अघि बढ्न समझदारीको प्रस्ताव गरेका छन्। नेकपा केही प्रभावशाली नेताहरूले पनि पार्टीमा देखिएका समस्या छलफलका माध्यमबाट समाधान गर्न सुझाव दिएका छन्।

पार्टी नेतृत्वबीचको दूरी घटाउन र विवाद समाधानका लागि सहजीकरण गर्न फरक फरक समूहका नेताहरूसँग छलफल थालेका छन्। पार्टी एकतालाई बलियो र विश्वासको वातावरण तयार गर्न मिलेर जानुको विकल्प नरहेको सुझाव आएका छन्। पार्टी शीर्ष तहमा देखिएको टकराव र दूरीले पार्टी एकता दुर्घटनामा पर्न सक्नेतर्फ सचेत गराइ रहेका छन्। एकता दुर्घटनामा पर्नु कम्युनिस्ट आन्दोलनकै लागि दुर्भाग्य हुने भन्दै कमी–कमजोरी सच्याउन बाक्लो संवादमार्फत हल गर्न नेतृत्वलाई सुझाव दिइरहेका छन्।

स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आइतबार साँझ आफ्नो फेसबुकमा लेखेका छन्, ‘पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण तयार गरौँ। आपसी कटाक्ष र टिप्पणी बन्द गरौँ। मिले जितिन्छ, झैँ–झगडाले नासिन्छ, गम्भीर बनौं।’ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पनि साझा प्रयत्नबाट समस्याको समाधान खोज्न जोड दिएका छन्।

आइतबार उनले एक विज्ञप्ति जारी गरेर भनेका थिए, ‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरू खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन्। यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरूको सामना गरेर मात्र गर्न सकिन्छ।’

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गोप्य बैठकले सरकारको कामको समीक्षा र पार्टीमा देखिएका कहीँ कमजोरीबारे संस्थागतरुपमा निर्णय लिन आवश्यक रहेको ठहर गरेको छ। बैठकमा सहभागी स्थायी कमिटी सदस्य युवराज ज्ञवाली भनेका छन्, ‘सरकारको कामको समीक्षा गर्नुपर्ने बेला भएको छ। अन्य विषय पनि छन्, ती विषयमा छलफल गरेर संस्थागतरुपमा निर्णय गर्नुपर्छ। त्यसको लागि स्थायी कमिटी नै हो र आवश्यक परे केन्द्रीय कमिटीको बैठक पनि बस्नुपर्छ।’ ज्ञवालीले भने।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफू निकट नेताहरूसँग अब कुन रणनीतिसहित अघि बढ्ने भनेर परामर्श गरिरहेका छन्। पार्टी भित्र देखिएको विवाद समाधानका लागि जतिसक्दो छिटो नेताहरूको बैठक बोलाउन उनी निकट नेताहरूले सुझाव दिएका छन्। पार्टीभित्र विवाद बढ्दै गएपछि स्थायी कमिटीको करिब बहुमत सदस्यहरूले समस्याका बारेमा पार्टी बैठकमै छलफल हुनुपर्ने मागसहित स्थायी कमिटी बैठक बोलाउन दबाब दिएका छन्।

तर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठक बोलाउने पक्षमा छैन। नेकपाभित्र चुलिँदो शक्ति संघर्षसँगै ओलीनिकट नेताहरू सक्रियतापूर्वक प्रधानमन्त्रीको प्रतिरक्षामा जुटेका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संकटविरुद्ध जुधिरहेको सरकारलाई घेराबन्दी गरिएको दाबी गरेका छन्। उनले नेकपाका नाममा स्थिरताविरुद्ध चलखेल भएको समेत बताएका छन्।

‘हङ पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाइ सङ्ख्यामा नेकपालाई जिताइदिए, नांगो भागबन्डाले त हङ पार्टी पो भएछ ! जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमति विपरीत षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढङ्गले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध जारी चलखेल, नेकपाको नाममा,’ थापाले फेसबुकमा लेखेका थिए।

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि पार्टीभित्र बहुमतको अंकगणितको कुनै सान्दर्भिकता नरहेको र नेकपामा ओलीविनाको चित्र कस्तो होला भनेर ओलीबाहेक अन्य समूहका नेताहरूलाई प्रश्न गरेका छन्। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौँमा बस्ती नै बसाउन सक्ने थिएनन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *