काठमाडौंबाट दोलखाका २५ सयको उद्धार, विदुर शर्मा एक्लैले व्यहोरे २० लाख रुपैयाँ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका दोलखाका २५ सय जनाको उद्धार गरिएको छ ।

जिल्ला समन्वय समिति दोलखाका सदस्य तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता विदुर शर्मा र बागमती प्रदेश सचिवालय सदस्य शंकर लामाको मुख्य पहलमा मेलुङवाका (मजदुर, विद्यार्थी, विपन्न, असहाय तथा श्रमिक वर्ग) करिब पच्चीस सय जनालाई गाउँ फर्काउने अभियान सफल भएको हो ।

अलपत्र पीडितहरुलाई गाउँ फर्काउन करिब २२ लाख रुपैयाँ खर्च भएको थियो । जसमा नेता शर्मा एक्लैले २० लाख ६० हजार व्यहोरेका छन् ।

उक्त अभियान सफल भएपछि भक्तपुरको गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफूहरुले यही बैशाख ८ र ९ गते गरी दुई दिन लगाएर ५५ वटा यात्रुवाहक बसमा उनीहरुलाई कुशलतापूर्वक घर पुर्याईएको जानकारी दिए ।

उनले भने,“नेकपाको ईमानदार कार्यकर्ता र जिल्ला समन्वय समिति दोलखाको सदस्य समेत भएको नाताले यो कार्यमा मैले सकेको भूमिका निर्वाह गरेको छु । संकटको यो घडीमा मेलुङ गाउँपालिकावासीलाई निःशुल्क यातायातको व्यवस्थासहित घर पठाउने अभियानमा ५५ वटा यात्रूवाहक बस रिजर्भ गरेबापतको २२ लाख भाडा खर्चमध्ये मैले २० लाख ६० हजार व्यक्तिगत रुपमा व्यहोर्ने निर्णयसहित यातायात व्यवसायीलाई एकमुष्ट भुक्तानी दिएको छु ।”

आफूले मानवीयताको नाताले यो सहयोग गरेको पनि शर्माको भनाई छ । उनले थपे,“मेरो यो सहयोग मानवीयताको नाताले, आफू मेलुङ गाउँपालिकावासी भएको हैसितयले सामाजिक दायित्वबोधका साथ गाँउपालिकावासीको उद्धारमा खर्च गरेको व्यहोरा सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।”
उनकाअनुसार गाडी भाडावापत मेलुङ गाउँपालिका वडा नम्बर २ का घ्याङसुकाठोकर निवासी नेकपा जिल्ला कमिटी दोलखाका सदस्य शैलेन्द्र खड्काबाट एक लाख र मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङसुकाठोकर निवासी युवा व्यवसायी वसन्त लामाले ४० हजार सहयोग उपलब्ध गरेका छन् । शर्मा आफैंपनि मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङसुकाठोकरका स्थायी निवासी हुन् ।

अलपत्र परेका नागरिकहरुलाई आवश्यक समन्वय रीग सुरक्षित ढंगले घरगाउँसम्म पुर्याउन भएको निर्देशनबमोजिम आफूहरुले सो व्यवस्था गरेको पनि शर्माद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

नागरिकलाई सुरक्षित ढंगल गाउँ फर्काउने अभियानमा आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् बाग्मती प्रदेशका सांसद विशाल खड्का, नेकपा बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य शंकर लामा, नेकपा मेलुङ गाउँपालिका ईन्चार्ज रवीन्द्र कार्की, स्थानीय सरकारका जनप्रतिनिधिहरु अ.ने.यातायात मजदुर संघ केन्द्रीय उपाध्यक्ष सुन्दर केसी, नेकपाका युवा नेताहरु शैलेन्द्र खड्का, छिरिङ लामा, सज्जन लामा, सरोज तामाङ, वासु भण्डारी, लोप्साङ लामा, विकल श्रेष्ठ, राजु कार्की, श्रीराज पोखरेललगायत नेकपाका नेता तथा कार्यकर्ताहरु, ५ नम्बर वडा सदस्य नारायण मगर, युवा व्यवसायी वसन्त लामालगायतका व्यवसायीहरुप्रति पनि शर्माले हार्दिक आभार प्रकट गरेका छन् ।

कार्यक्रममा बोल्दै शर्माले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मेलुङ गाउँपालिकाका विद्यार्थी, मजदुर तथा श्रमिक वर्गलाई आफूहरुले उद्धार गरेको सुनाए ।

उनले भने, ‘लकडाउनका कारण ठूलो मारमा परेका र विपत परेकाहरु जो हामी गाउँमै जान्छौं भन्नेहरुलाई हामीले यसरी सकुशल उद्धार गर्यौं । हामीले आफ्नो कर्तव्य पूरा गरेका हौं । काठमाडौंमा रहँदा उहाँहरुले गाउँमै जान उपयुक्त ठान्नुभयो । र, हामीले पनि सरकारले लगाएको लकडाउन पालना गर्दै लग्यौं । यहाँबाट यत्रो संख्यामा उद्धार गरेर उहाँहरुलाई गाउँमा लगियो । सम्बन्धित वडाअध्यक्षलाई उहाँहरुलाई सुरक्षित साथ घरघरमै बस्न आग्रह गरिएको छ ।’

त्यस्तै, आफूहरुले विशेष कारणवश यसअघि जान नपाएकाहरु जो काठमाडौंमै भएका मेलुङवासीरुलाई, केही दिनमा अर्को गाडी भरिने भयो भने फेरि पठाउने पनि उनले जानकारी दिए । उने भने, ‘हामीले काठमाडौंमा लकडाउनका कारण कोही भोकै नपरुन भनेर खानाको पनि व्यवस्था गरेका छौं । म यही कार्यक्रममार्फत यदि कोही भोकै पर्नुभएको छ भने फोन गर्न अनुरोध गर्दछु ।’

उनले भक्तपुरको गठ्ठाघरमा रहेको बर्गर हाउसमा दैनिक विहान १० देखि २ बजेसम्म खाना खुवाउने व्यवस्था रहेको बताए । उक्त बर्गर हाउसका सञचालकयद्धय श्रीभक्त काशीछवा (काठमाडौंका समाजसेवी) र वसन्त लामा हुन् ।

शर्माले आफूले खानाको व्यवस्था (मेस सञ्चालन) गर्न ५० हजार सहयोग गरेको पनि जानकारी दिए । आफूहरुले बर्गर हाउसमा लकडाउनका कारण मारमा परेका र खानाको अभाव भएकाहरुलाई निःशुल्क खुवाएको उनले बताए ।

 

त्यस्तै, कार्यक्रममा नेकपा बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य तथा मेलुङ गाउपालिका ३ का नेता शंकर लामाले आफूहरुले लकडाउनका कारण प्रभावित भएकाहरुलाई निःशुल्क उद्धार गरेको सुनाए । तर, आफूहरुले सरकार र अदालतको निर्देशनअनुसार नै अलपत्र परेकाहरुलाई उद्धार गरेको पनि उनको भनाई छ । उनले उद्धार अभियानमा ठूलो आर्थिक सहयोग गरेको भन्दै शर्मालाई धन्यवाद दिए ।

लामाले भने,“यो बेलामा सरकारलाई सहयाग गर्नुपर्छ । जनतालाई खुवाउनुपर्छ । रोगसँग लड्नको लागि खाना त खानुपर्छ । हामीले यो अभियानमा साथी, नाता हेरेको छैन् । हाम्रो गाउँपालिकाजस्तो अरुलेपनि काम गर्नुपर्यो । सेवा गर्ने काम गर्नुपर्छ । आपतविपत परेकाहरुलाई पहिलो र ठूलो राहत भनेको उहाँहरुलाई गाँउ पुर्याउने ठानेर यो कदम चाल्यौं । एकै दिनको बैठकले यो निर्णय गर्यौं । जान नमिल्नेहरुलाई हामीले यहीँ खानाको व्यवस्था पनि गर्यौं ।”

उनले मान्छे बाँचे नै विकास चाहिने, नबाँचे के विकास चाहियो ? भनेर आफूहरुले गाँउपालिकावासीलाई काठमाडौंबाट उद्धार गरेको पनि स्मरण गराए । उद्धार गरेर लगिएकाहरुलाई वडास्तरमा क्वारेन्टाईनको व्यवस्था गरिएको पनि उनको भनाई छ । उनले भने,“लकडाउन उल्लंघन गरेको होईन् । हामीले त उच्च सतर्कता अपनाएका हौं । आखिर मान्छेलाई गाउँ चाहिने रहेछ । अहिले उत्पादन बढाउनुपर्ने रहेछ भन्ने चेतना आएको छ । आत्मनिर्भर बनाउन सक्छौं । अब सरकारलाई गाली गरेर केही हुनेवाला छैन् । भुकम्पको बेलामा हिजो सबैले सहयोग गरेका थिए । अहिले कसैले सहयोग गर्दैन् । हामी सबै मिलेर काम गरौं ।”

कार्यक्रममा नेकपा मेलुङ गाउँपालिका ईन्चार्ज रवीन्द्र कार्कीले आफूहरुले सफलतापूर्वक उनीहरुलाई आ आफ्नो घरसम्म पुर्याएको स्मरण गराए ।

उनले भने,“उहाँहरुको यात्रा सफल भयो । व्यवस्थित् भएर बस्नुभएको छ । सचेतनापूर्वक बसेका छन् । अनुशासित र व्यवस्थित् ढंगले काम गरेका छौं । ठूलो काम गर्यौं भन्ने लाग्दैन् । हामी सबैलाई थाहा छ । धन ठूलो हो भन्नेहरुले केही गर्दैनन् । तर, यो टिम फरवार्ड भएर काम गरेको हो । आकस्मिक ढंगले अघि बढ्यौं । विदुर शर्मा धनी व्यक्ति होईन् । किसानको छोरो हो । तर, उहाँले केही प्रतिशत समाजको लागि योगादन गर्नुभएको छ । हामी सबैले उहाँलाई धन्यवाद दिनैपर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *