बिरामी कुरुवालाई वडाध्यक्षको पहलमा खाना खुवाइँदै

सुनसरी । जिल्लाको धरान महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष नरेन्द्र कुमार राईको पहलमा बिरामी कुरुवाहरुलाई समेत खाना खुवाइएको छ ।

लकडाउनका कारण खाद्यान्नको अभाव भई वडामा चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुका साथै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका बिरामी कुरुवाहरुलाई चैत्र १२ गतेदेखि नै निःशुल्क खाना खुवाउने गरिएको हो ।

वडाध्यक्ष राईका अनुसार राहत पाउनबाट वञ्चित भएका तथा समस्यामा परेकालाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरिएको हो ।

विशेषगरी वडाले वडाध्यक्षको समन्वयमा देश तथा विदेशमा रहेका व्यक्तिहरुलाई अनुरोध तथा स्वत स्फूर्त रुपमा नै आ–आफना जन्मदिन तथा आफन्तको सम्झनामा खाना खुवाउने काम गरिएको वडाध्यक्ष राईले मकालु खबरलाई बताए ।

उनले साँझ–बिहान आशिंक प्याकेज गरी दैनिक रुपमा करिब ५ सय जनालाई राहत स्वरुप खाना खुवाइँदै आएको उनले जानकारी दिए । ‘खाद्यान्न नभएर समस्यामा परेकाहरु कुरुवाहरुलाई पायक पर्ने ठाउँ प्रतिष्ठानको मुल गेट अगाडी बिहान ९ बजे र बेलुका ५ बजे वडा कार्यलयबाट नै खाना पकाई गाडीमा लगेर उनीहरु समक्ष पुर्याउने गरेका छौँ । साथै खाना खान अनुरोध समेत गर्ने गरेका छौँ’, उनले भने ।

संकटको बेलामा वडाले जे–जस्तो मिठो मसिनो खानाको ब्यवस्था गर्न सक्छ त्यही नै खुवाइँदै आएको र यसका लागि दाताहरुबाट पनि सहयोग आइरहेको उनले बताए ।

राहत तथा खाना खुवाउने अभियानमा सघाउन आम नगरवासीलाई अपील गर्दै वडा अध्यक्ष राईले सहयोग गर्न चाहनेले धरान वडा नं १८ को कार्यलय तथा वडा अध्यक्ष नरेन्द्र कुमार राई (प्रबिण) को मोबाईल नम्बर ९८५२०४९१३९ मा सम्पर्क गरी खाद्यान्न सहयोग गर्न सकिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =