थरुहट राष्ट्रिय मोर्चाको घोषणा: भोली र पर्सी अत्यावश्यक सेवा बाहेक सबै बन्द

फागुन १९, धनगढी । थरुहटरथारुवान राष्ट्रिय मोर्चाले तराईका जिल्लामा आमहड्तालको घोषणा गर्दै दुई दिन अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने घोषणा गरेको छ। 

सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन भोली र पर्सी कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको थियो। मोर्चाका कैलाली संयोजक माधव थारुले अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिने बताए।   

उनले भने, ‘आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहनेछ। आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम्ले लिनुपर्नेछ।’   

आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ। सोही विषयलाई लिएर मोर्चाले सोमबार केलालीको सुख्खडमा विरोध सभा आयोजना गरेको छ।   

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।   

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =