कोभिड-१९ : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी

चैत १६, झापा । झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ ।   

जसमध्ये चार आइसीयूमा भर्ना छन् । चिकित्सक र अन्य स्वास्थ्यकर्मी भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ)को रूपमा उपयोग गर्दै बिरामीको उपचारमा खटिन बाध्य छन् । अस्पतालका निर्देशक बालकुमार पोखरेल व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै चिकित्सक र नर्सहरुले कोभिड-१९ सङ्क्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको बताउछन् । सय बेडको सो अस्पतालमा १० वटा आइसियु र दुईवटा भेन्टिलेटर रहेको छ । 

‘बजारबाट शुरुमै १५ सेतो रेनकोट ल्याएका थियौँ, त्यसैलाई पिपीइ ठानेर काम चलाइरहेका छौँ’, व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव खट्किएको बताउँदै अस्पतालका निर्देशक पोखरेल भन्छन्,, ‘पिपीइ र ग्लोब्स बजारमा पाइँदैन, सरकारले दिन सकेको छैन ।’ उनले अत्यावश्यक औषधि र सामानको अभावमा निःशुल्क डाइलासिस सेवासमेत प्रभावित हुने समस्या दर्शाउनुभएको छ । अब सातामा दुईपटक डाइलासिस सेवा पाइरहेकालाई एकपटक मु्स्किलले दिन सकिने अवस्था उत्पन्न भएको उनले बताए ।   

null

नेपालमा समेत कोभिड-१९ सङ्क्रमण फैलिएपछि झापाका सबै अस्पतालमा रोकथाम र निसङ्क्रमणका लागि सावधानी अपनाउन थालिएको हो । अस्पतालका कर्मचारीले प्रवेशद्वारमै बिरामीको अवस्था र समस्याका बारेमा सामान्य सोधपुछ गर्न थालेका छन् । तर, अस्पतालले इमर्जेन्सी बिरामी भर्ना लिने र उपचार गर्ने क्रम सतर्कतापूर्वक जारी राखेका छन् ।   

विर्तामोडको ८०० श्ययाको सुविधासम्पन्न बीएण्डसी टिचिङ अस्पतालमा बिरामीबाहेकका आफन्त र सवारी चालकलाई अस्पताल प्रवेशस्थलमै निसङ्क्रमणका लागि हात धुन लगाउने वा स्यानिटाइजर प्रयोग गर्न लगाउने अनिवार्य व्यवस्था मिलाइएको छ । ‘हामीकहाँ अहिले सामान्य वार्डमा १०५ जना बिरामी भर्ना छन्’, बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने, ‘आईसीयूमा १५ र सघन उपचारकक्षमा १० जनाको उपचार भइरहेको छ । हाडजोर्नी, न्यूरो र गाइनोको शल्यक्रिया पनि चालू छ ।’ 

कोरोना भाइरसबाट सङ्क्रमित बिरामीलाई छुँदा र उपचार गर्दा सावधानी अपनाउन सकिएन भने स्वास्थ्यकर्मीलाई नै सबैभन्दा पहिला सङ्क्रमण हुने भएकाले व्यक्तिगत सुरक्षा सामान (पिपीइ)को अविलम्ब पर्याप्त व्यवस्था गरिनुपर्ने बीएण्डसी अस्पतालमा कार्यरत डा लक्ष्मण ठाकुरले बताए । 

अस्पतालले उच्च ज्वरो आएका बिरामीलाई ढोकाबाटै फर्काउन थालेको गुनासो सामाजिक सञ्जालमा फैलिन थालेको छ । तर, अस्पतालहरुले बिरामी फर्काएको नभएर आफूसँग सम्बन्धित विषयविज्ञ चिकित्सक नहुँदा अर्को अस्पतालमा लैजान सुझाव दिएको बताउँछन् । 

विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले गाइनो, अर्थोपेडिक, इमर्जेन्सी र सामान्य बिरामीलाई लकडाउनका बेला निर्वाध सेवा प्रदान गरिरहेको जनाएको छ । अस्पतालका निर्देशक रोमणि भट्टराईले आइसीयूमा एक गरी २० बिरामी भर्ना गरेर उपचार भइरहेको बताए ।   

सय श्ययाको सो अस्पतालमा सात सघन उपचारकक्ष, दुई  भेन्टिलेटर र तीन अति सघन उपचारकक्ष (एनआइसीयू) रहेका छन् । ‘लकडाउन भएको सङ्कटको अवस्थामा उपचार सेवा रोकेका छैनौँ’, मनमोहन अस्पतालका निर्देशक भट्टराई भन्छन््, ‘व्यक्तिगत सुरक्षाका सामग्री नभएका कारण स्वास्थ्यकर्मी डराउँदै काम गरिरहनुभएको छ ।’ आफैंले बनाएका ४० पिपीइ स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दिइए पनि त्यस्ता सामग्री कतिको भरपर्दो हुन् भन्नेमा प्रश्न उठिरहेको उनी बताउछन् ।   

ढोका खुला राख्दा ज्वरो (तापक्रम) ननापी ह्वारह्वार्ती मानिस प्रवेश गर्ने भएको हुँदा कोभिड–१९ को त्रास फैलिएदेखि नै अस्पतालले मुख्य प्रवेशद्वारमा हात धुने र स्यानिटाइजर हातमा दलेर मात्र बिरामीका आफन्तलाई भित्र जान दिने व्यवस्था मिलाएको उनले बताए ।  ठूलो जोखिम मोलेर स्वास्थ्यकर्मीले सङ्कटका बेला सेवा दिइरहेको उनको भनाइ छ । सरकारले जाँच्ने किट र पिपीइ उपलब्ध गराएमा आफ्नो अस्पताल कोरोना भाइरसको उपचार गर्न सक्षम रहेको उनले दाबी गरे । 

झापाको बीएण्डसी अस्पतालले कोरोना भाइरसको उपचारका लागि सरकारलाई अस्पताल नै दिन तयार रहेको घोषणा गरिसकेको छ । तर, अस्पतालमा हाल पिपीइ, ग्लोब्स र मास्ककै समेत अभाव छ । ‘कोभिड–१९ जाँच्ने किट र व्यक्तिगत सुरक्षाका लागि पिपीइ सरकारले दिए हामी कोरोना भाइरस सङ्क्रमण भएको हो कि होइन भन्ने जाँच गर्न र कोरोनाका बिरामीको उपचार गर्न तयार छौँ’, बीएण्डसी अस्पतालका मेडिकल डाइरेक्टर निराजन पराजुलीले बताए ।   

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीय अस्पतालबाट पिपीइ, ग्लोब्स र मास्कको अभाव हुँदाहुँदै उपचार सेवा प्रदान भइरहेको बर्ताए । उनले अस्पताललाई ढोका बन्द नगर्न, ओपिडीबाहेकका उपचार सेवा नरोक्न र उपचारका लागि आउने बिरामीलाई नफर्काउन निर्देशन दिँदै व्यक्तिगत सुरक्षा सामग्री ९पिपीइ०को बन्दोबस्तका लागि पहल भइरहेको जानकारी दिए । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =