शिक्षामन्त्रीद्वारा पूर्वी चितवनको चेपाङ बस्तीस्थित विद्यालय अनुगमन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका-१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गरेका छन् ।

चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासिय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे उनले जानकारी लिएका हुन् । मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गरे । छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिइएको थियो ।

उक्त छलफलमा शिक्षक, कर्मचारी र अभिभावकहरूले विद्यालयको पूर्वाधार विकास, शैक्षिक स्रोत–साधनको व्यवस्थापन तथा स्थानीय स्तरमा देखिएका समस्याका बारेमा आफ्ना सुझाव राखेका थिए । अनुगमन पछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताए ।

यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे । अनुगमनमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झा र मन्त्रीका सल्लाहकार सरोज गौतमलगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =