इटलीमा एकैदिन ७९३ को मृत्यु, विश्वभर मृतकको संख्या १३ हजार नाघ्यो

चैत ९, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणले अहिले विश्वलाई नै चिन्तामा पारेको छ । चीनपछि सबै भन्दा बढी युरोपियन मुलुक इटालीलाई आक्रान्त बनाएको कोरोनाले विश्वका १८८ देशलाई चिन्तामा पारेको हो । 

संयुक्त राष्ट्रसंघमा सूचीकृत भएका १९५ देशमध्ये अब सात देश मात्र कोरोना भाइरसको संक्रमणबाट जोगिएका छन् । तर यी देशमा पनि जुनसुकै बेला कोरोनाको संक्रमण भित्रिन सक्ने जोखिम छ । संयुक्त राष्ट्रसंघमा दर्ता भएका १९५ देशसहित विश्वमा २३० देश रहेका छन् । 

इटलीमा एकैदिन ७९३ को मृत्यु 

कोरोना भाइरस संक्रमणबाट इटलीमा एकै दिन झण्डै आठ सय मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको संख्या चार हजार ८२५ पुगेको बीबीसीले जनाएको छ ।   

यस्तै एकै दिन ६ हजार ५५७ जना नयाँ बिरामी थपिएर इटलीमा संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको छ । संक्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घर बाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको छ । 

यस्तै स्पेनमा शनिबार एकै दिन २८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको संख्या एक हजार ३७८ पुगेको छ । इरानमा पनि एकै दिन १२३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको संख्या एक हजार ५५६ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ११२ जना, बेलायतमा ५६ र अमेरिकामा ४६ जनाले ज्यान गुमाएका छन् ।   

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर १३ हजार ५० जनाको मृत्यु भएको छ । भाइरसबाट विश्वभर ३ लाख ८ हजार १० जना संक्रमित भएका छन् । संक्रमित व्यक्तिमध्ये ९५ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *