जबर्जस्ती प्रवेश गर्न खोज्दा गौरिफन्टा नाकामा तनाव

चैत ११, धनगढी । भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ ।   

कोरोना भाइरसको त्रासपछि नाकामा आइपुगेका करिब ५ सय नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो । उनीहरुले जबर्जस्ती प्रवेश गर्न खोजेपछि नेपाल-भारत सीमाको गौरीफन्टा नाका तनावग्रस्त बनेको छ । 

दशगजा क्षेत्रबाट नेपाली भूमि प्रवेश गरिसकेका नेपालीहरुले घर आउन पाउनुपर्ने भन्दै सुरक्षाकर्मीलाई ढुंगामुडा गरेका छन् । उनीहरूले नाराबाजीसमेत गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेका छन् । बल प्रयोगपद्धि झडप हुँदा केहि प्रहरी र सर्वसाधारण घाइते भएका छन् । 

गृहको आदेश पर्खिदै स्थानीय प्रशासन 

यता स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ । गृहसँग समन्वय भईरहेको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अलपत्र नेपालीलाई गन्तव्यमा पुयाउन पहल भइरहेको जानकारी दिए ।   

सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसँग जिल्लागत विवरण मागेको छ । गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपालीले सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्ने प्रयास समेत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *