चितवनमा लकडाउन अवज्ञा गर्ने १५ जना पक्राउ

फाइल तस्विर/चितवन 

चैत्र १२, चितवन । नेपाल सरकारले लागू गरेको लकडाउनको आदेश उल्लंघन गर्ने १५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । 

कोरोना भाईरसको रोकथामका लागि नेपाल सरकारले मंगलवारदेखी लकडाउन लागू गरेको थियो । यस समयमा अटेरी गरी जबरजस्ती लकडाउन उल्लंघन गर्ने गर्ने १५ जनालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए । उनका अनुसार उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ । 

ऐनमा यो नियम उल्लंघन गरेमा १ हजार जरिवाना वा एक महिना सम्म कैद उल्लेख छ । हिजो पहिलो दिन भएकाले ७ जनालाई एक एक हजार तिराई छाडिएको थियो । बिहानदेखि मध्यान्ह १२ बजेसम्म लकडाउन उल्लंघन गरेका १९३ वटा सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा मोटरसाईकलको संख्या अत्याधिक छ । 

प्रहरी प्रवक्ता कोईरालाका अनुसार  १६८ वटा मोटरसाईकल, १० वटा स्कुटर, २ वटा कार, २ वटा वोलेरो, ५ वटा अटो, ३ वटा ट्याक्टर, २ वटा ट्रक रहेका छन् । साथै घरबाट अनावश्यक रुपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई–बुझाई गरि घर फर्काईएको पनि उनले बताए । 

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने,अन्य सवारी साधन नचलाउन र सर्वसाधरणलाई घरबाट ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *