नागढुंगामा हेल्थ डेस्क

चैत ९, काठमाडौँ । कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुंगामा सहायता कक्ष स्थापना गरिएको छ।
चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आइतबार बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरेका हुन्।
नागढुंगामा स्वास्थ्य सहायता कक्षको स्थापनासँगै उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको जाँचमा सहयोग पुग्ने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुंगामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताए।

‘सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परीक्षणका लागि स्वास्थ्य सहायता कक्षमा सहयोग पुग्नेछ ।’ उनले भने।
चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले स्वास्थ्य सहायता कक्ष स्थापनासँगै चार समूह बनाएर २४ सैँ घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्ने बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले स्वास्थ्य सहायता कक्षको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताए। चन्द्रागिरिले स्वास्थ्य सहायता कक्षमा बस्नका लागि १५ जना स्वास्थ्यकर्मीसमेत परिचालन गरिसकेको छ।








