देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण पुर्याउन कांग्रेसको सुझाव

चैत १७, काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जिल्लामा रहेका स्वास्थ्य संस्थामा कोरोनाभाइरस रोकथाम र उपचारमा प्रयोग हुने सामग्री पुर्याउन सुझाव दिएका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गर्दै उनले स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री, मास्कलगायतका स्वास्थ्य सामाग्री र उपकरण छिटो जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा पुर्याउन आग्रह गरेको हुन्।
सरकारले चीनबाट खरिद गरि ल्याएका सामग्री सातै प्रदेश र ७७ जिल्लामा आवश्यकता हेरेर पठाउन खाँणले स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका हुन्। उपकरण र स्वास्थ्य सामग्री निजी अस्पताललाई पनि उपलब्ध गराउन सके परीक्षण गर्ने संख्या वृद्धि हुन सक्ने खाँणले बताए।

‘आवश्यक पर्ने स्वास्थ्य सामग्री अभाव हुन दिनु हुँदैन,’ खाँणले भनेका छन्। कोरोना रोकथाम र नियन्त्रणमा खटिएकाहरूलाई राज्यले मनोबल उच्च हुने गरी सुविधा दिनुपर्ने उनले बताए। स्वास्थ्यमन्त्री ढकालले सोमबार नै प्रदेशहरूमा स्वास्थ्य सामग्री पठाउन सुरू गरेको जवाफ दिएका छन्। थप सामग्री चैत २१ गतेभित्र आउने र अन्य स्वास्थ्य संस्थामा पनि पठाउने उनले बताएका छन्।








