धरानमा लक डाउन उल्लंघन गर्ने १२ जना नियन्त्रणमा, टाँडी लगिएका युवामा ज्वरो देखिएपछि वीपी प्रतिष्ठान ल्याइयो

चैत्र १२, धरान । सुनसरीको धरानमा लक डाउनको उल्लंघन गर्ने १२ जना ब्यक्ति  सहित सवारी साधन नियन्त्रणमा लिएको छ । लक डाउनको दोस्रो दिन प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको हो ।   

कोरोना भाईरसको महामारीसँग लड्न नेपाल सरकार र स्थानीय सरकारले हिजोदेखि नै देशैभर लक डाउन घोषणा गरेको थियो । सोही अनुसार धरानमा पनि लक डाउन गरिएको भएपनि हिजो धेरैले लक डाउन उलंघन गरेपनि प्रहरी प्रशासन कडा भएको थियो ।   

धरानमा लक डाउने भर्ने सम्बन्धमा धरान उपमहानगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इलाका प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ लगायतको संयुक्त बैठकले निर्णय गरिएको थियो । धरानमा आज बुधबार औषधी पसल बाहेक अन्य पसलहरु बन्द छन् । 

पसलहरु बन्द भइपनि केही ब्यक्तिहरु खुलेआम असुरक्षित तवरले घुमफिर गरेको पाइएपछि इलाका प्रहरी कार्यालय धरानले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।   

प्रहरी प्रशासनले धरानबासीलाई घर बाहिर ननिस्कन आग्रह पनि गरिरहेको छ । लक डाउनको उल्लंघन गरी घरबाट बाहिर निस्किएका १२ जनासँगै १२ वटा मोटरसाईकल, ९ वटा स्कुटर, एउटा सिटी सफारी र एउटा टेम्पो पनि प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरुलाई थप कारवाहीका लागि अगाडी बढाईने बताइएको छ ।   

कोरोना बिरुद्ध धरानमा जनचेतना जगाउन उपमहानगरपालिका तथा स्थानीय प्रशासनले (कोरोना) अर्थात ‘को’ को अर्थ कोहीपनि ‘रो’ को अर्थ रोडमा र ‘ना’ को अर्थ ननिस्कौ भन्ने तय गरेको छ ।   

यसैबीच भारतको बेङ्लोरबाट नेपाल आएका सिराहा लाहानका एक युवालाई हिजो (मंगलबार) साँझ मोरङको टाँडी क्वारेन्टाइनमा पठाइए पनि उनलाई मध्यराती नै धरान ल्याइएको छ । 

ज्वरो आएको पाइएपछि उनलाई मध्यराती डेढ बजे टाँडी क्वारेन्टाइनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । उनलाई अहिले प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । ज्वरो आएपछि नेपाल आर्मीले फिर्ता पठाएको र उनलाई आइसोलेसनमा राखिएको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले जानकारी दिए । उनको थप परिक्षण भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *