विशिष्ट साधक इन्द्रबहादुर राईको स्मृति सभा आयोजना

फागुन २३, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नेपाली वाङ्मयका विशिष्ट साधक इन्द्रबहादुर राईको दोस्रो स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘नेपाली भाषा–साहित्यमा इन्द्रबहादुर राईको योगदान’ विषयक विचार गोष्ठीको आयोजना गरी साधक राईको दोस्रो स्मृति दिवस मनाइएको हो ।
उक्त अवसरमा डा. रत्नमणि नेपालद्वारा सम्पादित तथा देशपत राईद्वारा प्रकाशित विशिष्ट साधक राईको स्मृतिग्रन्थ ‘इन्द्राख्यान’को लोकार्पण समेत गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र पूर्व कुलपति एवम् कार्यक्रमका सभापति बैरागी काइँलाले उक्त स्मृतिग्रन्थको लोकार्पण गरेका हुन् । उक्त अवसरमा इन्द्रबहादुर राई विशेषाङ्क ‘त्रिफला’ पत्रिकाको समेत लोकार्पण गरिएको थियो ।
कार्यक्रममा बोल्दै राईका साहित्यिक सहयात्री एवम् तेस्रो आयामका एक अभियन्तासमेत रहेका काइँलाले राई नेपाली भाषा–साहित्यका विशिष्ट साधक भएको उल्लेख गरे।

कुलपति गङ्गाप्रसाद उप्रेतीले इन्द्रबहादुर राई नेपाली भाषा–साहित्यका शिखर साधक भएको उल्लेख गर्दै राईको विचार, सिद्धान्त र दर्शनलाई समग्रतामा बुझ्नका लागि उहाँका सृजनाहरूमा पस्नुपर्ने बताए । कुलपति उप्रेतीले भने, “हामीले विश्व साहित्यमा गर्वका साथ देखाउने स्रष्टा इन्द्रबहादुर राई बाहेक अर्को छैन ।” उनले डा. रत्नमणि नेपालद्वारा सम्पादित स्मृतिग्रन्थ ‘इन्द्राख्यान’ नेपालका तर्फबाट राईप्रति अर्पण गरिएको श्रद्धाको फूल भएको विचार व्यक्त गरे ।
उपकुलपति डा. जगमान गुरुङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै दार्जिलिङमा जन्मिएका स्रष्टा इन्द्रबहादुर राई नेपाली भाषा–साहित्यका महारथि भएको दाबी गरे ।
प्रा.डा. अभि सुवेदीले तेस्रो आयाम तथा लीलालेखन मार्फत राईले नेपाली साहित्यमा उच्चतम् प्रयोग गरेको बताउँदै बहुलताका पक्षधर राई आधुनिक चेतनाका विशिष्ट स्रष्टा भएको जिकिर गरे ।
प्र.डा. गोविन्दराज भट्टराईले कार्यक्रममा इन्द्रबहादुर राईमाथि गोष्ठीपत्र प्रस्तुत गर्दै स्रष्टा राईलाई जङ्गल छिचोलेर जमिनमा झरेको घामको संज्ञा दिँदै भने “इन्द्रबहादुर राई नेपाली वाङ्मय जगत्का सर्वाधिक उचाई भएका स्रष्टा हुनुहुन्थ्यो ।”
कार्यक्रममा कृष्ण धरावासीले राई सहनशील लेखनको पक्षमा रहेको स्रष्टा भएको बताए । उनले भने, “इन्द्रबहादुर राईले अब मानवइतरको पक्षमा पनि स्रष्टाले कलम चलाउनु पर्छ भन्ने विचार व्यक्त गर्ने गर्नुहुन्थ्यो ।”
डा. विन्दु शर्माले प्रा.डा. भट्टराईद्वारा प्रस्तुत गोष्ठीपत्रमाथि टिप्पणी गर्दै भने, “गोष्ठीपत्र प्रस्तोता प्रा.डा. भट्टराई साहित्यमा राजनीति हावी हुनुहुन्न भनेता पनि इन्द्रबहादुर राईको लीलालेखन आफैँमा ठुलो राजनीति थियो ।” उनले थपे “लीलालेखनले सबै विचारलाई समेट्दैन । यसभित्र आफैँमा विरोधाभाष पाइन्छ ।” उनले सबै लेखक स्वाभावैले प्रगतिशील हुन्छन् भन्ने प्रा.डा. भट्टराईको खन्डन गर्दै भने “प्रगतिशील हुनु भनेको समाजप्रति उत्तरदायी हुनु हो तर सबै लेखक समाजप्रति उत्तरदायी भएको पाइँदैन ।”
कार्यक्रममा ज्ञानु अधिकारीले स्मृतिग्रन्थ ‘इन्द्राख्यान’माथि समीक्षा प्रस्तुत गरेका थिए । ।








