प्रदेश १ ले प्रमुख नाकाहरु बन्द गर्ने, आवात-जावतमा कडाई !

चैत्र ७, काठमाडौं । प्रदेश नम्बर १ ले कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर १ अन्तर्गतका प्रमुख नाकाहरु बन्द गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज (शुक्रबार) बसेको नोवेल कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रदेश १ को प्रमुख नाकाहरु बन्द वा व्यवस्थितका साथै आवतजावतमा कडाई गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशस्थित सबै सरकारी तथा गैह्रसरकारी सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुमा पानी र साबुनको व्यवस्था गर्न मातहतका सबै मन्त्रालयहरुमा निर्देशन समेत दिने निर्णय गरेको छ ।

यस्ता छन् बैठकका अन्य निर्णयहरुः
– बढी मानिसहरुको जमघट हुने मेला, हाटबजार तथा बनभोज जस्ता क्षेत्रमा यस पूर्व गरिएको निषेधलाई निरन्तरता दिने ।
– प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरु तथा यातायात सेवा कार्यालयहरुबाट सम्पादन हुने सेवाहरु (दर्ता, नविकरण, सवारीचालक अनुमतीपत्र) २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने । सो अवधिभर गराउनुपर्ने त्यस प्रकृतिका कार्यहरुमा लाग्ने थप जरिवाना साविक बमोजिम नै लिने।
– बढी जनसम्पर्क हुने कार्यालयहरुमा भिडभाड गर्न नदिने र उच्च सतर्कता अपनाउन निर्देशन दिने ।
– भन्सार बिन्दुबाट नेपालको नजिकैको सहरमा सुबिधामा आउने भारतीय सवारी साधनहरु नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत अर्थ मन्त्रालयमा अनुरोध गर्न सिफारिस गर्ने ।
– प्रदेश स्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य शुरु गर्ने ।
– न्युनतम दश बेडको भेन्टीलेटर सहित ५० शैयाको अस्पताल पूर्व नेशनल ट्रेडिङ लिमिटेडको भवनमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ताभित्र स्थापना गर्ने । यसका लागि जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने । आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट लिने।
– कोरोना परिक्षणको लागि कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नती गरी प्रयोग गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने ।
– अस्पतालको सुरक्षा आन्तरीक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा सुरक्षा निकायले गर्ने ।
– समग्र अनुगमन दैनिक गर्न देहाय बमोजिमको २५ सदस्यीय अनुगमन समिति गठन गर्ने
मुख्यमन्त्री – १ अध्यक्ष
प्रदेश सरकारका सबै मन्त्रीहरु – ४ सदस्य
प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनितिक दलका नेताहरु –४ सदस्य
प्रमुख सचिव – १ सदस्य
प्रदेश सभाका सचिव –१ सदस्य
जिसस महासंघ, नगरपालिका महासंघ र गाँउपालिका महासंघ अध्यक्ष –३ सदस्य
सुरक्षा निकाय नेपाली सेना पूर्वि पृतनापति, नेपाल प्रहरीका प्रादेशिक कार्यालय प्रमुख, शसस्त्र प्रहरी बलका प्रादेशिक प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश कार्यालय प्रमुख– ४ सदस्य
प्रदेश पत्रकार महासंघका अध्यक्ष – १ सदस्य
प्रदेश उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष– १ सदस्य
प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष– १ सदस्य
नेपाल रेडक्रस प्रदेश अध्यक्ष – १ सदस्य
निजी अस्पताल सञ्चालक समितिका प्रदेश अध्यक्ष – १ सदस्य
नेपाल चिकित्सक संघ प्रदेश अध्यक्ष – १ सदस्य
मुख्यमन्त्री तथा मप कार्यालयका सचिव सदस्य सचिव








