आइसोलेसन अस्पतालको निर्माण कार्य अन्तिम चरणमा

चैत्र १८, विराटनगर । नेशनल ट्रेडिङ लिमिटेडको खालि रहेको भवनमा निर्माण हुँदै गरेको आइसोलेसन अस्पतालको  निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरस (कोभिड, १९) सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार नेशनल ट्रडिङको भवनलाई आइसोलेसन अस्पताल बनाउने निर्णय भएको हो ।   

सोही निर्णय अनुसार ५० शय्या क्षमता मध्ये १० वटा बेड भेन्टिलेटर सहितको अस्पताल निर्माण कार्य तीव्र गतिमा भइरहेको र अबको २ दिन भित्र अस्पताल निर्माण कार्य समापन हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । 

अस्पतालको निर्माण कार्य यहीँ चैत ८ गतेदेसख सुरु भएको थियो ।   

निर्माणाधीन अवस्थामा रहेको सो अस्पताल कोरोना सङ्क्रमित बिरामीहरूका लागि प्रदेश नम्बर १ कै नमुना अस्पताल रहेको मन्त्री घिमिरेको दाबी छ । उनले भने, अस्पतालमा चिकित्सकले बिरामी कक्षभित्र गइरहन नपर्ने सिसी टिभिबाट नै बिरामीको निगरानी गर्ने र बिरामीले पनि आफ्नो कुरा चिकित्सकलाई सञ्चार माध्यमबाट नै सञ्चालित गर्ने प्रणालीको विकास गरेका छौँ ।   

मङ्गलवार बेलुकासम्ममा घर भित्रका मर्मतसम्हार, विद्युत् जडान, एसी जडान, पानी लगायतका प्राविधिक पक्ष समापन गर्ने, बुधवार र बिहीबार आन्तरिक सरसफाइ गरेर अस्पताल सञ्चालनमा ल्याउने मन्त्री घिमिरेको भनाई छ ।   

आइसोलेसन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणित भएर सिफारिस भएका बिरामीहरूको मात्रै उपचार गर्ने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *