कोरोना सामग्रीमा करोडौं चलखेल भएको भन्दै स्वास्थ्यमन्त्रीको चौतर्फि विरोध, ब्यवसायी भन्छन्–‘कोरोनामा राज्यको ढुकुटी लुटियो’

  

चैत्र १६, काठमाडौं । निजी कम्पनीमार्फत चीनबाट खरिद गरिएको कोरोना सामग्री सरकारले लगाएको रेटभन्दा सस्तोमा खरिद गर्न सकिने औषधी उपकरण आयातकर्ताहरुले बताएका छन् । विश्व नै कोरोना विपत्तिमा परेको बेला नेपालमा भने राज्यको ढुकुटी सिध्याउने हर्कत गरेको भन्दै स्वास्थ्यमन्त्रीको विरोध भइरहेको छ । 

सरकारले कोरोना भाइरस (कोभिड–१९) को एन ९५ मास्क समेत तेब्बर मुल्यमा खरिद गरेको भन्दै चौतर्फी आलोचना भइरहँदा एक औषधी आपुर्तिकर्ताले आफुले सरकारले तोकेको मुल्यभन्दा कम रेटमा सामग्री आपुर्ति गर्नसक्ने बताए । ‘सरकारले लिस्टिङ गरेका अधिकांश सामानमा महंगो मुल्य राखिएको छ । टेण्डर आब्हान गरेको भए हामी यो मुल्यभन्दा सस्तोमा दिन सक्थ्यौं ।’ नाम उल्लेख नगर्ने शर्तमा ती सप्लायर्सले भने ।   

उनले सर्जिकल मास्कदेखि ग्लोब्स, चस्मा, गाउन, थर्मोमिटर, पिसिआरमा सरकारले चर्को मुल्यमा खरिद गरेको दावि गरे । मकालु खबरसँग सम्पर्कमा आएका उनले प्रोटेक्टीभ गगल्सलाई सरकारले १८ डलर लगाएकोमा चीनमै उक्त गगल्स ३ डलरसम्ममा आउने जिकिर गरे । सरकारले प्रोटेक्टीभ गगल्स एक खाल पिस मगाएको छ ।   

ती व्यवसायीले सरकारले एमी गाउनलाई १६ डलर लगाएकोमा आफुले सोहि गुणस्तरको गाउन ९ डलरमा दिन सक्ने जिकिर गरे । भने, एक्जामिनेशन ग्लोब्सलाई ०.२० सेन्ट लगाएकोमा अन्तराष्ट्रिय बजारमा उक्त ग्लोब्स ०.१० सेन्टमा आउने दावि गरे । उनले हेभी ड्युटी ग्लोब्सको ठाउँमा पाउडर ग्लोब्स प्रयोग गर्दा हुने जसको अन्तराष्ट्रिय मुल्य २० सेन्ट पर्ने ठोकूवा गरे । हेभी ड्युटी ग्लोब्सलाई सरकारले १.३२ डलर लगाएको छ ।   

सरकारले एक्जामिनेशन ग्लोब्स २ लाख पिस अर्डर गरेको छ । भने, हेभी ड्य्टी ग्लोब्स एक लाख पिस अर्डर गरेको छ । सर्जिकल मास्कलाई सरकारले ०.३२ डलर हालेकोमा उक्त मास्क ०.१० डलरमै प्राप्त गर्न सकिन्छ । भने, एन ९५ मास्कलाई सरकारले ७ डलरमा खरिद गरेकोमा सोहि मास्क १ डलरमा पाइने ठोकूवा गरेका छन् । चाइनामा लामो समयदेखि आयातनिर्यातको कामगर्ने ब्यवसायी नविन विकले स्वास्थ्यमन्त्रीलाई संवोधन नै गरेर किटमा १४ करोड, चस्मामा १५ करोड, गाउनमा ११ करोड भ्रष्टाचार भएको जिकिर गरेका छन् ।     

यता शुज कभर डिस्पोजलमा पनि सरकारले चर्को मुल्य लगाएको दावि गरिएको छ । शुज कभर डिस्पोजल २ डलर लगाएकोमा उक्त सामग्री चाइनामै ०.४० डलरमा आउने ती सप्लायर्सको दावि छ । सरकारले कोरोना ज्वरो नाप्नकालागि इन्फारेड थर्मोमिटरलाई ६५ डलर लगाएको छ । जवकी सोहि प्रकृतिको थर्मोमिटर अन्तराष्ट्रिय बजारमा २५ डलरमै प्राप्त गर्न सकिने दावि छ । सरकारले पिसिआर मेसिनमा प्रयोग हुने किटलाई ३८ युएस डलर लगाएकोमा चाइनामै उक्त किट १० डलरमा उपलब्ध छ । सरकारले किनेको, ज्याकमा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।   

सरकारले ललितपुरको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेको हो । मन्त्री भट्टराईका अनुसार सामान ल्याउँदा लागेको भाडा आयात गर्ने कम्पनीले नै तिर्नेछ । 

सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता, अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु छन् । 

१ अर्ब २४ करोड बराबरका उक्त सामाग्री तीन पटकमा नेपाल ल्याइसकिने छ । योसँगै चीनको सिचुवान प्रदेश, चिनियाँ दूताबास, अलिबाबा र ज्याकमा फाउन्डेशनले नेपाललाई उपलब्ध गराउने भनिएका सामाग्रीहरु पनि ल्याइएको छ ।  सिचुवान प्रदेश र चिनियाँ दूतावासबाट प्राप्त हुने सामग्री १.१ मेट्रिक टन र अन्य दुई फाउन्डेशनले उपलब्ध गराएको समान १.४ मेट्रिक टन छ । 

दुई फाउण्डेसनले कूल १९ लाख ९८ हजार ८ सय ५५ चिनियाँ यूयान (हालको विनिमय दर अनुसार ३ करोड १९ लाख १ हजार ६ सय रुपैयाँ) बराबरको सामग्री पठाएका छन् । सिचुवान प्रदेश र चिनियाँ दूताबासले भने ३ लाख ३ हजार १ सय चिनियाँ यूयान (हालको विनिमय दर अनुसार ५४ लाख ९ हजार ५ सय रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री पठाएका छन् । सरकारले तोकेभन्दा कम रेटमा सामग्री उपलब्ध गराउन सकिने बताएका ती ब्यवसायीले कोरोना भाइरस संक्रमणको विपत्तिमा देश परेको बेला देश नै लुट्ने प्रपञ्च रचिएको जिकिर गरे ।   

सामाजिक अभियान्ता भरत दाहालले पनि कोरोना उपचार सामग्री खरिदमा सरकारबाटै ठूलो भ्रष्टाचार भएको जिकिर गरेका छन् । उनले चीनले पठाएको मूल्य सूचीमा कोरोना ज्वरो नाप्ने थर्मामिटरको मूल्य २९.५० डलर भएपनि सरकारले लागत बढाएर ६५ डलर पुर्याएको दावि गरेका छन् ।   

उनले चीनबाट खरिद गर्न लागिएका सबै सामानमा मूल्य बढाएर टेण्डर पास गरिएको जिकिर गरेका छन् । दाहालले कोरोना औषधि र उपकरण खरिदकालागि सरकारले कुटनीतिक प्रकृया अन्तर्गत काठमाडौंस्थित चिनियाँ दूताबास मार्फत् गर्नुपर्ने काम दूताबासलाई थाहै नदिई कमिशन खाने उद्देश्यले सिधै चीनको सिचुवान प्रान्तको सरकारलाई पत्र पठाएर गरेको दावि गरेका छन् ।  

  

दाहालका अनुसार सिचुवान सरकारले सामानको मूल्य सूची सहित लिष्ट पठाएपछि सरकारको गिरोहले चीनबाट आएको मूल्य सूची भन्दा कैयौं गुना बढी मूल्य राखेर करोडौंको भ्रष्टाचार गरेको दावि छ । उनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्री ओलीका सल्लाहकार बिष्णु रिमाल, खरिद गर्ने कम्पनीका सदस्य रहेका रीमालका छोरा, मेडिकल सप्लायर्स विशाल पण्डित, गोबिन्दबहादुर थापा, अशोक चौलागाई र ओलीका मूख्य प्राविधिक सल्लाहकारको मिलेमतोमा भ्रष्टाचार भएको जिकिर गरेका छन् ।   

यता हिजो नै स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चीनबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि खरिद गरिएको कुनैपनि प्रकारको सामानमा भ्रष्टाचार नभएको जिकिर गरेको छ । भने, मेडिकल सप्लायर्स हस्पिटेक इन्टरप्राइजेजका विशाल पण्डितलेपनि विज्ञप्ति जारी गर्दै आफुले देश विपत्तिमा परेको बेला सरकारलाई सहयोग मात्र गरेको भन्दै आफ्नो संलग्नता नरहेको जनाएका छन् ।   

हेर्नुहोस यी पत्रहरु   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *