घरभित्र भोकले घर बाहिर रोगले मर्ने त्रासका समुदायलाई तरुण दल सभापति गुरुङले दिए खाद्यान्न

चैत्र १६, सुनसरी । विश्वभर कोरोनाको कहर छ । यस्तोमा नेपालपनि अछुतो रहन सकेको छैन । सरकारले साताब्यापी लकडाउन घोषणा गरेपछि सबैभन्दा मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु परेका छन् ।
रोगको डरले घरभित्र बसेका दैनिक ज्यालादारीमा जिवनयापन गर्ने समुदायलाई दुई छाक कसरी टार्ने समस्या भएपछि नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङले ५० घर परिवारलाई एक साताका लागि पुग्ने खाद्यान्न वितरण गर्न सुरु गरेका छन् ।
हाल यूकेमा रहेका गुरुङले तीन दिनअघि फेसवुक मार्फत कोरोना भाइरस रोकथाम गर्न सरकारले लकडाउन गरेसँगै दैनिक ज्यालादारीमा जिवनयापन गर्ने ५० परिवारलाई एक साताको खाद्यान्न सहयोग गर्ने घोषणा गरेका थिए । सोहि अनुरुप उनले इटहरी उपमहानगरपालिका वडा नं. २० का गरिब विपन्न ५० घर परिवारको पहिचान गरी खाद्यान्न वितरण गरेका हुन् ।

गुरुङले आफु विदेशमा रहेपनि स्वदेशमा रहेका तरुण दलका युवाहरु परिचालन गरेर ती परिवारलाई ५ केजी चामल, ३ केजी आलु, १ केजी नुन र सावुन समेत उपलब्ध गराएको बताए । ‘अहिले दैनिक ज्यालादारीमा जिवनयापन गर्नेहरुलाई घरभित्र बसुँ भोकले मर्ने डर, घरबाहिर निस्कुँ रोगले मर्ने डर छ । यस्तो बेलामा हामी सबैले निम्नआयस्तर भएका दैनिक ज्यालादारीका मजदुरको जिवन बचाउनु हाम्रो कर्तब्य हो भन्ने ठानेर सहयोग गरेको हुँ ।’ यूकेमा रहेका गुरुङले मकालु खबरसँग टेलिफोनमा भने ।
उनले निम्न आयस्तर भएका समुदायको तथ्यांक संकलन गरेर आवश्यक्ता हेरेर खाद्यान्न सहयोग बढाइने समेत बताए ।
तरुण दल सुनसरी सभापति गुरुङले संकटको बेला एक नेपालीले अर्को नेपालीलाई सहयोगको भावना राख्नुपर्ने बताएका छन् । विश्वनै महामारीको चपेटामा पर्दा धनी गरीब कोही नछुटिएको उल्लेख गर्दै गुरुङले भएकाले नभएकालाई दिएर खानुको जस्तो ठूलो धर्म अरु नभएको जिकिर गरे । ‘जसरी कोरोनाले धनी देश, गरिब देश, ठूलो सानो केही भनेन त्यसै गरी हामीले पनि सबै प्रति समान माया र सम्मान जताउनु आजको आवश्यक्ता हो । लकडाउनका बेला भएकाले नभएकाको जिवन बचाउन आवश्यक सहयोग गरौं ।’
उनले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमा नागरिकले सभ्य भएर सहयोग गर्नुपर्ने भन्दै आम नागरिकलाई यस्तो बेला घर बाहिरन ननिस्कन पनि आग्रह गरेका छन् । कोरोनाले धनी गरिब केही नभनिरहेको अवस्थामा जथाभावी घर बाहिर निस्कँदा झन भयावह स्थिति निम्तन सक्ने भएकोले लकडाउन खुल्ला नहुञ्जेल आफ्नो सरसफाइको ख्याल गर्दै घरभित्रै रहन आग्रह गरे ।








