जन्मदिनको अवसरमा आश्रममा भोजन


चैत ८ चितवन । पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ होटेल, रेस्टुरेन्टमा गएर मनाउने फेसनको रूपमा विकास भइरहेको छ । हजारौँ खर्च गरेर त्यस्तो काममा फजुल खर्च गर्ने गरिन्छ । तर भरतपुर महानगरपालिकाका इन्जिनियर सुरज देवकोटाले आफ्नी छोरीको जन्मदिन पुण्य कार्य गरेर मनाएका छन् ।
छोरी रियान्साको शनिवार परेको जन्मदिन देवकोटा परिवारले चितवन मानव सेवा आश्रममा मनाएका हुन् । पहिलो जन्मवर्षको अवसरमा आश्रममा आश्रितहरूलाई एक दिनको खाना र खाजा खुवाएर जन्मदिन मनाइएको थियो । भरतपुर ९ स्थित चितवन मानव सेवा आश्रममा ४१ जना आश्रित छन् । उनीहरू सबै मानसिक रोगी हुन् । यहाँको अवस्था बुझेर नातिनीको जन्मदिनको अवसरमा एक दिनको खाना र खाजा खुवाउनु पाउँदा खुसी लागेको रियान्साका हजुरबुबा सूर्य प्रसाद देवकोटाले बताए ।
रियान्साका बुवा सुरज देवकोटा, आमा रिचा देवकोटा, हजुरबुबा सूर्य प्रसाद देवकोटा, हजुरआमा राधा देवकोटा लगायतले उनीहरूले आफ्नै हातबाट खाना दिएका थिए ।
मानव सेवा आश्रममा कार्यरत नर्सिङ स्टाफ पुष्पा लुईटेलले जन्मदिन, पुण्य तिथि लगायतको अवसर पारेर आश्रममै उपस्थित भएर खाना खुवाउनुका साथै सहयोग हुँदै आएको बताइन् । दीर्घकालीन श्रोतका लागि अहिले अश्रयकोष समेत स्थापना गरिएको छ । सडकमा विक्षिप्त रूपमा रहेकाहरूलाई ल्याएर उनीहरूलाई आश्रममा राखिएको नर्सिङ स्टाफ लुईटेलले बताइन् ।
