कोरोना भाइरस : चीनसँगको सीमा पुरै बन्द गर्नुपर्ने भन्दै हङ्कङमा हडताल

माघ २०, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिम घटाउन आवश्यक भएको भन्दै हङ्‍कङस्थित अस्पतालमा कार्यरत सयौँ कर्मचारीहरूले मुख्यभूमि चीनसँगको सीमा पूरै बन्द गर्नुपर्ने मागसहित हडताल सुरु गरेका छन्। 

हङ्‌कङले सीमावारिपारि गर्ने रेल र फेरी सेवा बन्द गरिसकेको छ। तर स्वास्थ्यसेवाका कर्मचारीहरूले पूरै सीमा बन्द गर्नुपर्ने माग राखेका छन्। 

अधिकारीहरूले सीमा बन्द गर्नु विश्व स्वास्थ्य सङ्गठनको सुझावविपरीत हुने तर्क गरेका छन्। 

हङ्‌कङमा अहिलेसम्म १५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनबाट फैलिएको उक्त महामारी अन्य देशमा पनि फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरिसकेको छ। 

‘यदि सीमा पूरै बन्द भएन भने यो महामारीसँग सङ्घर्ष गर्न पर्याप्त जनशक्ति, सुरक्षा उपकरण वा आइसोलेशन (सङ्क्रमित व्यक्तलाई राख्न) कक्ष हुनेछैनन्,’ अस्पतालका कर्मचारीहरूको नवगठित सङ्गठनकी अध्यक्ष विनी यूले भनिन्। 

सोमबार अत्यावश्यक सेवाबाहेकका सयौँ स्वास्थ्यकर्मीहरू उक्त आन्दोलनमा सहभागी भए। उक्त सङ्गठनका अनुसार मङ्गलवारसम्म आफ्नो माग पूरा नभए अत्यावश्यक सेवाका चिकित्सक र नर्सहरू पनि आन्दोलनमा सहभागी हुनेछन्। 

हङ्‌कङको कुल जनसङ्ख्या ७० लाख छ। चीनको भाग भए पनि हङ्‌कङमा केही स्वायत्तता छ। 

हङ्‌कङ र चीनबीचको सीमा अन्य अन्तर्राष्ट्रिय सीमाजसरी नै सञ्चालित हुन्छ। चीनले यातायात बन्द गर्नुबाहेक हङ‍्‌कङ जाने यात्रीहरूलाई प्रवेशाज्ञा दिन पनि रोकेको छ। 

अहिलेसम्म चीनमा १७,००० भन्दा बढी मानिसमा कोरोना भाइरसबाट सङ्क्रमण भएको पुष्टि भइसकेको छ। सोमबार बिहानसम्म सङ्क्रमण भएका ३६१ जनाको मृत्यु भएको तथ्याङ्क छ। 

चीनबाहिर अहिलेसम्म १५९ जना मानिस उक्त भाइरसबाट पीडित भएका र फिलिफिन्समा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। 

फिलिपिन्समा मृत्यु हुने व्यक्ति चीनको वुहानबाट गएका चिनियाँ नागरिक नै भएको बीबीसीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *