सञ्चारमन्त्री बाँस्कोटाको मागियो राजीनामा !

माघ १९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाको राजीनामा माग गरिएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद सुदन किराँतीले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गरेका हुन् । मन्त्री बाँस्कोटाले एमसीसीका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको उनको आरोप छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा सांसद किराँतीले भने, ‘सरकारका प्रवक्ताले ‘‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ, चाह्यो भने अमेरिकाले सुलेमानी बनाइदिन्छ यो देशका नेताहरूलाई’’ भन्ने अभिव्यक्ति आपत्तिजनक छ ।’

राष्ट्रियता स्वाधीनतामाथि आफ्नै सरकारका प्रवक्ताले ग्रहण लगाउन खोजेको उनको आरोप छ । उनले भने, ‘उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।’
प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ । नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन ।’
सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा निजी धारणा राख्ने गरेको बताए । राष्ट्रिय हितमा हुने गरी अगाडि बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औंल्याए ।
एमसीसीका विषयमा नेकपा नै दुई धारमा बाँडिएको छ । एकपक्ष जसरी पनि पारित हुनैपर्छ भन्नेमा छन् भने अर्का पक्ष एमसीसी पारित भए देश संकटतिर धकेलिने, पारित हुन नहुने पक्षमा छन् ।
एमसीसीमा काँग्रेसमा भने एकमत देखिएको छ । सभापति शेरबहादुर देउवादेखि नेता शेखर कोइरालासम्म एमसीसी पास हुनुपर्ने पक्षमा छन् । नेकपाका केही नेताहरुले भने केही बुँदा सच्याएर मात्रै एमसीसी अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ । बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरूको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ ।
प्रधानमन्त्री केपी ओलीले भने हिउँदे अधिवेशनबाटै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आएका छन् ।








