गणपूरक सङ्ख्या नपुगेपछि संसद बैठक स्थगित

फागुन १५, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गरेका थिए । 

नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए । सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद सङ्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति रहेको पाइएको थियो ।   

नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हाल कायम सांसद सङ्ख्याको एक चौथाइ उपस्थिति हुनुपर्छ । एक चौथाइ सांसदको उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिंँदै बैठक स्थगन गरेका हुन् ।   

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते अपराह्न १ बजे बस्नेछ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =