‘सरकारकै कारण संघीयता धरापमा पर्यो’

फागुन ५, काठमाडौं । सरकारकै कारण संघीयता धरापमा परेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिश बनेको जिकिर गरे ।
उनले कम्युनिष्टहरु जनवादी केन्द्रियतामा आधारित शासन व्यवस्थामा विस्वास गर्ने भएकाले वर्तमान नेकपा सरकार नै संघीयता विरोधी रहेको बताए ।
अन्तरिम संविधान लेखनमा समेत सक्रिय भुमिका खेलेका डा. कोइरालाले भने–‘तत्कालिन समयमा संघीयता कांग्रेस, एमाले र माओवादीको ऐजेण्डा नै थिएन । मधेस आन्दोलनकै कारण संघीयता आएको हो ।’

डा. कोइरालाले संघियता आफ्नो पार्टीको ऐजेण्डा थियो भनेर जनतासामु कुनैपनि पार्टीले झुटो बोल्न नहुने बताए । नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौंमा आयोजना गरेको ‘नेकपा सरकारका दुई वर्षः संघीयता कार्यान्वयनमा उदासिनता’ विषयक कार्यक्रममा बोल्दै डा. कोइरालाले सरकारको २ वर्षे कार्यकाल पूर्णरुपमा असफल रहेको पनि जिकिर गरे ।
कोइरालाले बितेको २ बर्षमा महंगी र कालाबजारी बढेको, गरिब, किसान, मजदुरहरुले छाक टार्न नसक्ने अवस्था सिर्जना हुँदै गएको, नीतिगत भ्रष्टाचार संस्थागत हुँदै गएको, दण्डहिनता बढेको, संवैधानिक निकायहरु पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको बताए ।
कार्यक्रममा नेकपाका नेता देव गुरुङले संबैधानिक अड्चन रहेकाले संविधान संशोधन नगरी संघीयता प्रभावकारी कार्यान्वयन हुन नसक्ने बताए । संघीय समाजवादी पार्टीकी सरिता गिरीले मधेसी जनता आन्दोलनको तयारीमा रहेको बताईन् । कार्यक्रममा पुर्वसांसद हरि रोकाले कार्यपत्र प्रस्तुत गरेका थिए ।








