कालापानी जाँदै रक्षामन्त्री पोखरेल, अतिक्रमित क्षेत्र फिर्ता हुने आशामा दार्चुलावासी

फागुन ५, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रमा जाँदैं छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उपप्रधानमन्त्रीसहितको टोली केहिबेरपछि कालापानी क्षेत्र जान लागेको हो ।   

दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापार मेला तथा दार्चुला महोत्सव उद्घाटनमा पुगेका उपप्रधानमन्त्री दार्चुलामै छन् । अवलोकनका लागि उपप्रधानमन्त्रीसँगै प्रतिनिधिसभा र प्रदेश सांसदसहित सुरक्षा अधिकारी कालापानी क्षेत्र जाँदै छन् ।  

कालापानी जाने भएपनि त्यहाको कुन-कुन क्षेत्र अवलोकन गर्ने भन्नेबारे भने तय भइनसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘कालापानी क्षेत्रमा ५-६ फिट हिउँ जमेको छ । त्यसैले हेलिकप्टर कुन स्थानमा अवतरण गर्ने भन्ने टुंगो लागिसकेको छैन, उनले भने, ‘कालापानी आसपासको क्षेत्रमा पनि अवतरण हुन सक्छ ।’ 

उपप्रधानमन्त्री पोखरेल कालापानी अवलोकनमा जाने भएपछि दार्चुलावासीमा कालापानीसहितको सीमा क्षेत्र फिर्ता हुने आशा जागेको छ । ‘रक्षामन्त्रीको कालापानी क्षेत्रको निरीक्षण महत्वपूर्ण हो’, दार्चुलाका संघीय सांसद गणेश ठगुन्नाले भने, ‘यसले सबैमा हाम्रो भूमि फिर्ता हुन्छ भन्ने आशा जागेको छ ।’ 

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारत विरुद्धमा प्रदर्शन समेत भएको थियो । यसअघि उपप्रधानमन्त्री पोखरेलले नेपालको भूमि एक इञ्च पनि नछाड्ने बताएका थिए । सरकारले यसअघि नै छारुङ क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने निर्णय पनि गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =