वीपी प्रतिष्ठानमा सुत्केरी र बच्चाको मृत्यु हुँदा तनाव, प्रतिष्ठानले छानविन गर्ने

फागुन १५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरान तनावग्रस्त भएको छ ।
बिहिबार बिहान १ बजेतिर सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएकी इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको समय मृत्यु भएपछि मृतकका आफन्तले प्रतिष्ठानको अस्पताल प्रशासन नै घेराउ गरेका थिए । चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिला र उनको पेटमा भएको बच्चाको समेत मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका हुुन् ।
सुत्केरी महिला २८ वर्षीया लक्ष्मीलाई तीन दिनअघि सुत्केरी गराउन प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना गरिएको लक्ष्मीका ससुरा कृष्णबहादुर बुढाथोकीले बताएका छन् । लामो समयसम्म सुत्केरी व्यथा लाग्दापनि समयमै प्रतिष्ठानले सुत्केरी नगराएकाले आमाको पेटमै बच्चा मरेको र आमाको समेत मृत्यु भएको दावि गरेपनि प्रतिष्ठानले भने नर्मल अवस्थामै डेलिभरी गराउन प्रयास भइरहँदा आमा र बच्चाको मृत्यु भएको बताएको छ ।

प्रतिष्ठानका गाइनो विभागका डा. पप्पु रिजालले चिकित्सकबाट कुनै गल्ती नभएको बताए । उनले मृत बच्चालाई नर्मल डेलिभरी मार्फत बाहिर निकाल्ने क्रममा अचानक पल्मनरी एडिमा (फोक्सोमा पानी भरिएर) मुखबाट फिज आएको र मृत्यु भएको जिकिर गरे ।
आजै बिहान प्रतिष्ठान प्रशासनले मृतकका आफन्तसँग बार्तागरी समस्या समाधान गरेको प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनालले मकालु खबरसँग भने ।
उनले घटनाको विस्तृत जानकारी दिएपछि आफन्तहरु कन्भिन्स भएर गएको बताए । ‘अस्पतालमा आएपछि जस्तो सुकै विरामी निको हुन्छ, बाँच्छ भन्ने हुँदैन, उपचार गर्न सक्दो प्रयास गर्ने हो ।’ डा. खनालले भने–‘चिकित्सकले मार्छुनै भनेर उपचार गरेको हुँदैन । आमा र बच्चाको अवस्था कस्तो थियो भन्ने विरामीका आफन्तलाई जानकारी दिन कम्युनिकेशन ग्याप भएको हुन सक्छ ।’
उनले छलफलमा प्रतिष्ठानबाट घटनाको यथार्थ जानकारी गराएपछि आफन्तहरु कन्भिन्स भएर शव बुझेको जनाए । साथै प्रतिष्ठानले पनि घटनाको छानविन गर्ने र दोषि देखिए संलग्नलाई हदैसम्मको कारवाही गर्ने बताए ।








