कोरोना भाइरस : वन्यजन्तुका लागि यसरी वरदान बन्न सक्छ !

माघ २०, एजेन्सी । चीनको वुहानबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार विहानसम्म ३ सय ६२ जनाको मृत्यु भइसको छ ।   

मध्यचीनको वुहान सहरस्थित एउटा माछा बजारबाट कोरोना भाइरसको सङ्क्रमण सुरु भएको वैज्ञानिकहरूले शङ्का गरेका छन् । उक्त भाइरसका कारण करिव  १७ हजार मानिस संक्रमित भएको छन् भने विश्वभर उक्त भाइरसबाट संक्रमितको संख्या बढी रहेको छ ।   

उक्त बजारमा सर्प, दुम्सीआदि जीवलाई पिँजडामा राखेर खाना वा औषधिको रूपमा प्रयोग गर्न बेच्ने गरिन्थ्यो । तर त्यस क्षेत्रमा पशुस्वास्थ्यको जाँच सुरु भएसँगै त्यो क्रम रोकिएको छ। 

सूखे सांप

चीन वैध र अवैध वन्यजन्तुजन्य उत्पादनका लागि सबैभन्दा ठूलो उपभोक्ता हो। 

अस्थायी प्रतिबन्ध 

विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूका अनुसार चमेराहरू कोरोना भाइरसका मुख्य स्रोत हुन सक्छन्। तर मानिसमा सर्नुअघि त्यो भाइरस चमेराबाट अन्य जीवमा सरेको हुन सक्छ। तर त्यसको पहिचान भइसकेको छैन। 

चीनमा धेरै वन्यजन्तुका उत्पादनहरू स्वादका लागि खाने गरिन्छ। केहीलाई ‍औषधिका रूपमा पनि प्रयोग गर्ने परम्परा रहेको छ। चीनका कैयौँ स्थानमा रेस्टुराँहरूमा चमेराको मासुको सूप तथा बाघको अण्डकोषको सूपजस्ता परिकार बेच्ने गरिन्छ। 

कतैकतै गोमन सर्प, भालुका पन्जाका परिकार र बाघको हाड हालिएका रक्सी पाइन्छ। साना बजारमा चाहिँ मुसा, बिराला र सङ्कटमा परेका विभिन्न पक्षीका परिकार पाइन्छ। 

चीनमा धेरै अध्ययन गरेका एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका एक अनुसन्धानकर्ता भन्छन् ः ‘येवेई’ (अर्थात् चिनियाँ भाषामा जङ्गली स्वाद) शब्द चीनभरि नै चलनचल्तीमा रहेको छ। त्यसको सांस्कृतिक अर्थ साहस, कौतूहल र सम्मानको मिश्रण हुन्छ। 

वन्यजन्तुबाट बनाइएका परिकार खानाले नपुंसकता तथा बाथ रोग निको हुने चिनियाँ विश्वास रहिआएको छ। 

कत्लालाई औषधिको रूपमा प्रयोग गरिने सालकको माग बढेपछि त्यो जनावर चीनबाट लोप भइसकेको छ। 

अरू देशहरूमा पनि सालकको चोरीसिकार बढेको छ। 

गैँडाको सिङलाई चिनियाँ ‌औषधिमा प्रयोग गरिएकाले त्यो वन्यजीव पनि सङ्कटग्रस्त भइसकेको छ। 

मानिसमा हुने नयाँनयाँ सङ्क्रमण वन्यजन्तुबाटै सर्ने गरेको बताइन्छ। अहिलेको सङ्क्रमणले फेरि चीनको वन्यजन्तु व्यापारतर्फ संसारको ध्यान खिचिदिएको छ। 

अहिले चीनले वन्यजन्तुको व्यापारमा अस्थायी प्रतिबन्ध लगाएको बेला संरक्षणकर्मीहरूले त्यसलाई स्थायी प्रतिबन्धमा बदल्न दबाव दिइरहेका छन्। 

के चीनले सुन्ला त ? 

विज्ञहरूका अनुसार त्यो निकै चुनौतीपूर्छ हुनेछ। सार्स र मेर्सजस्ता भाइरस पनि चमेराबाट सिभेट बिरालो र उँट हुँदै मानिसमा सरेको बताइन्छ। 

विश्व स्वास्थ्य सङ्गठनको पोषण तथा खाद्यसुरक्षा विभागका डा. बेन एम्बरेक भन्छन्, ‘हामी यसअघि कहिल्यै सम्पर्कमा नआएका वन्यजन्तु र तिनको वासस्थानसँगको सम्पर्कमा आइरहेका छौँ। त्यसैले नयाँनयाँ भाइरस, ब्याक्टेरिया र परजीवीसँग सम्बन्धित रोगहरू देखा परेका छन्।’ 

हालैको एक अध्ययनअनुसार विश्वका ३२,००० हाड भएका जीवमध्ये २० प्रतिशत वैध वा अवैध रूपमा किनबेच गर्ने गरिएको छ। विश्वमा झन्डै २० अर्ब डलर बराबरको वन्यजन्तुको अवैध व्यापार हुने गरेको छ। 

खतराको घण्टी 

विश्व वन्यजन्तु कोषले एउटा वक्तव्यमा भनेको छ, ‘सङ्कटमा परेका जीवजन्तु वा तिनका अङ्गलाई घरपालुवा, खाना वा औषधिको रूपमा भइरहेका प्रयोग अन्त्य गर्नको लागि यो स्वास्थ्यसङ्कटले खतराको घण्टीको काम गर्नुपर्छ।’ 

तर चिनियाँ सरकारले वन्यजन्तु व्यापारमा लगाइएको अहिलेको प्रतिबन्ध अस्थायी प्रकृतिको हुने बताइसकेको छ। सन् २००२ को सार्स सङ्क्रमणको बेला पनि चीनले यस्तै अस्थायी प्रतिबन्ध लगाएको थियो। 

बढ्दो निगरानी 

आगामी सेप्टेम्बर महिनामा बेइजिङले जैविक विविधता महासन्धिबारे एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। 

हालै प्रकाशित एउटा अन्तर्देशीय प्रतिवेदनका अनुसार अहिले झन्डै १० लाख प्रजातिहरू लोप हुने जोखिममा छन्। 

यस्तो सङ्कट यसअघि कहिल्यै आएको थिएन। 

पछिल्लो कोरोनाभाइरस सङ्क्रमणपछि पनि चीनका सरकारनियन्त्रित सञ्चारमाध्यमका सम्पादकीयहरूले देशका अनियन्त्रित वन्यजन्तु बजारको आलोचना गरेका बीबीसीले जनाएको छ ।   

लन्डनस्थित वातावरण अनुसन्धान संस्थाकी डेबी ब्याङ्क्स भन्छिन्, ‘हामी यसलाई परम्परागत चिनियाँ औषधिका लागि वन्यजन्तु पालन, उत्पादन र प्रयोग अन्त्य गर्ने अवसरको रूपमा लिन सक्छौँ।’ 

तर विज्ञहरू वन्यजन्तु संरक्षणको प्रयास चीनमा मात्र सीमित नगरेर विश्वव्यापी बनाउनुपर्नेमा जोड दिन्छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *